• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सुन्दर रोल्पा (फोटो फिचर)


साउन २५, रोल्पा । रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । यो साविकको राप्ती अञ्चल र हालको प्रदेश नम्बर ५ मा अवस्थित छ । रोल्पाको पूर्वमा बाग्लुङ र प्यूठान, पश्चिममा सल्यान, उत्तरमा रुकुम र दक्षिणमा दाङ जिल्ला पर्दछ ।

कुल क्षेत्रफल १ हजार ८ सय ७९ बर्ग कि.मी रहेको रोल्पामा १ नगरपालिका र ९ गाउँपालिका छन् । भुगोलका हिसावले दुर्गम मानिने रोल्पाले विस्तारै विकासको गति लिदै गएको छ ।

एउटा ऐतिहासिक जिल्ला मानिने रोल्पा १० वर्षे जनयुद्वको उद्गम थलो पनि हो । यहाँको थवाङ, होलेरी, मनिमारे जस्ता ठाउँमा तत्कालिन माओवादी र सरकारी सेनाबिच भिषण युद्व भएको थियो ।

यो जिल्लामा पर्ने जलजला हिमाल (बराह क्षेत्र), राँकमाधुरी चुचुरो, सुनछहरी, जेदबाङ देउराली जस्ता सुन्दर पर्यटकीय स्थलहरु छन् । त्यस्तै शिव पाञ्चायन मन्दिर खुङ्ग्री, शिव गुफा जुँगार, स्वर्गद्वारी प्रभुको जन्मस्थल रुन्टी(सखी), शिव मन्दिर गुम्चाल लगायतका धार्मिक स्थलहरु रहेका छन् ।

“रोल्पा” नाम भनेर चिनिने यो जिल्ला स्थान विशेष “रोल्पाथुम” को कारणले रोल्पा बनेको हो । तर अनौठो कुरा के छ भने अहिले “रोल्पा” भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ । सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो । त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा “रोल्पा” पनि सल्यान मै छुट्न गएको हो ।

त्यस्तै अर्को किंवदन्तीअनुसार यस जिल्लाको शासन रोल पालोअनुसार गरिने परम्परा  थियो । रोल पालोको राज्य भन्दै जाँदा अपभ्रंश भइ रोल्पा भनिएको पनि पाइन्छ ।

यो जिल्लामा पर्यटनको राम्रो सम्भावना रहेको छ । दश वर्ष लामो माओवादी सशस्त्र द्वन्दले रोल्पालाई युद्ध पर्यटनको सङ्ज्ञा थपिदिएको थियो । पर्यटनको धेरै सम्भावना भए पनि यसलाई लाभ लिने गरी ठोस योजना तथा कार्यक्रम भने बन्न नसकेको जिल्लावासीको गुनासो छ ।

खाम भाषीहरुको जलजला क्षेत्रमा बसोबास छ । रोल्पा नेपालकै मगर जातिको बाहुल्यताको हिसाबले पाल्पा जिल्लापछिको दोस्रो हो । जलजला क्षेत्रसँग जोडिएका थबाङ, जेलबाङ, उवा, मिरुल, धबाङ, सेरम, गाम, कुरेली, ह्वामा आदि खाम भाषी बस्ती हुन् । भेषभुषा रहनसहन र यहाँको जीवनशैली मौलिक छ । माघेसङ्क्रान्ति र भूम्या यस क्षेत्रका प्रमुख पर्व हुन् । भूम्या, मारुनी, पैसेरु, सारङ्गी रोल्पाका प्रमुख नृत्य हुन् ।

 

 

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार