• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यान चिनाउने कविता !


  • पुर्ण ओली

ढुङ्गे छानु, चिटिक्कका घरहरु, बाटो सफा सुग्घर
थुम्का, फाँट, गुफा, बजार, बसती छन् सुन्दरै सुन्दर ।

सिस्ने छुन्छ कुमाखले जब उठी, अग्लिन्छ नीगाल्चुली
मूटू छुन्छ गुराँस, मेल्, मखमली, ती लालुपाते फुली ।

कल्याणार्थ चुसाउँछिन् जल अनाज् यी शारदा यौवना
भेरी पल्तिर बग्दछिन् जलधिको बोकेर सम्भावना ।

सात्विक्, शुभ्र, तिरस्कृता-पशुबली छत्रेश्वरी पीठ छिन्खै
राबाङ् भुवनेश्वरी भगतका ईच्छा पुरा गर्दछिन् ।

सल्यानी व्यवहारमा सरल छन्, कर्तव्यमा छन् हठी
टप्पानाच, सुरम्य संस्कृति कला, लाखे तथा सोरठी ।

सेरेङ्गे पहिचान बक्छ, खुकुरी सल्यानको सान हो
लाटाकामि, कुशाग्र फक्रिरहने सल्यान उद्यान हो ।

थार्मारे, वनगाढ, श्रीनगर औ बाङ्गे, खरीबोटले
खाँचो अक्कर पूर्ति हुन्छ सहजै, लान्ती, कपुर्कोटले ।

सल्लेरी वनमा रिठा, टिमुर छन्, काफल् र चुत्रा कति
कैले हुन्न समाप्त आलु, अदुवा, छन् सुन्तला, कागती ।

शोभाबर्धक, शान्त, कञ्चन सदा मोहक् कुपिण्डे दह
सामुन्ने वनवाटिका कुसुममा मौरी संगाल्छन् मह ।

भण्डारे गरिजीउला र बरला, दार्मा र मर्मा धनी
वारीपारि अभावको चिनु कतै भेटिन्न खोजे पनि ।

हात्तीझैँ नपत्याइने कदम यो अग्लो, सुँधो चाल छ
राखौँ नाम गजेन्द्रग्राम यसको यो मैत्र-सञ्जाल छ ।

पाएँ आश्रय स्वर्गतुल्य भुमिमा, सौभाग्य कस्तो अहो !
लोभ्यायो मन यो, सुटुक्क घरबार्, जोडौँ कि जस्तो भयो ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार