• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानको एउटा यस्तो वडा ‘जहाँ तरकारी खेती नगर्ने लाई सामाजिक बहिस्कार गरिन्छ’


मिना बुढाथोकी/  साउन २६, सल्यान । सल्यान जिल्लाको क्षत्रेश्वरी गाउँपालिकाको वडा नम्बर–२ मा तरकारी खेती नगर्नेलाइ स्थानीयले सामाजिक बहिस्कार गर्ने गरेका छन् । घरमा करेसाबारी नबनाउने र बजार बाट तरकारी किनेर खाने घरमा स्थानीयले पाहुना आउ जाउ बन्द गरेका छन् ।

यस वडाले गत आर्थिक वर्षदेखी एक घर एक करेसाबारी अभियान अन्तरगत करेसाबारी नहुनेकोे घरमा पाहुना नजाने नीति अवलम्बन गरेपछि स्थानीयले पनि करेसाबारी अनिवार्य बनाउनु पर्ने भन्दै छर छिमेकको घरमा आउ जाउ बन्द गरेका छन् ।बैशाख महिनादेखी यता जसको घरमा आफ्नै  तरकारी उत्पादन हुँदैन त्यो घरमा पाहुना नै आउने जाने बन्द भएको छ ।

प्रायः सबैजसो मानिस किसान भएर पनि परम्परागत ढंगले खेतीपानी गर्ने गरेको र  पोषणयुक्त तरकारीमा ध्यान नपु¥याएको समययमा वडाले थालेको करेसाबारी अभियान निकै सराहनीय भएको स्थानीय रेशम भण्डारीले बताए । ‘सुरुमा करेसाबारी नभएको घरमा पाहुना जान नपाइने सुन्दा साह्रै रिस उठेको थियो तर अहिले बुझ्दै जाँदा आफ्नै लागि रहेछ भन्ने लागेको छ,उनले भने,घरमा पाहुन आउन छाडेपछि हामीलेपनि करेसाबारीमा तरकारी उत्पादन गर्न थालेका छौं।’

वडा कार्यालयले सुरु सुरुमा अनिवार्य करेसाबारीको अवधारणा ल्याउदा केही अप्ठेरो लागेपनि अहिले आप्mनै घरमा उत्पादन भएको ताजा र पोषणयुक्त तरकारी खान पाउँदा स्थानीयहरु खुशी भएका छन् । स्थानीय विर बहादुर बुढाले भने ‘हामी अहिले सम्म घरमै भएको चिजलाई उपयोग गर्न नजानेर समस्यामा परेका रहेछौं, मौसम अनुसारको तरकारी घरमै फलाएर खान नजानेर हामी कुपोषणको शिकार समेत हुने गरेका थियौं। ’

करेसाबारी नभएको घरमा पाहुना नजाने नीति आएपछि अहिले अनिवार्य रुपमा सबैको घरमा बाह्रै महिना करेसाबारी भएको अर्का कृषक बेल बहादुर घर्तीले बताए । अनिवार्य करेसाबारीको अवधारण आएपछि केही किसान व्यवसायिक तरकारी खेतीमा समेत आकर्षित भएको उनको भनाई छ ।

आफ्नो वडामा रहेको कुपोषणको मात्रा घटाउनका लागि अभियानकै रुपमा करेसाबारी कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष प्रेम बहादुर खड्काले बताए । करेसाबारीमा पनि पोषणयुक्त तरकारी लगाउनै पर्ने उनको भनाई छ । पाहुना नजाने नीति बनाए पछि प्रत्येकका घरमा करेसाबारी रहेको उनको दावी छ ।  गत आर्थिक वर्षदेखी शुरुवात गरेको यो अभियान अहिले आएर प्रभावकारी भएको उनको भनाइ छ ।

सुरुमा करेसाबारीमा स्थानीयलाई आकर्षित गर्नका लागि वडा कार्यालयले विउविजन उपलब्ध गराएको र अहिले किसान आफैले विउविजन किनेर तरकारी लगाउने गरेको खड्काले बताए ।‘स्थानीयको पोषणमा सुधार ल्याउन र खान पानको शैलीमा परिवर्तन ल्याउन एक घर एक करेसाबारी अभियान सञ्चालन गरिएको हो, उनले भने ।’

बैशाख महिना देखी यता करिब ९० प्रतिशतले करेसाबारीमा तरकारी खेती शूरु गरेको उनले बताए । यस कार्यक्रमलाइ अझै प्रभावकारी बनाउन वडा अध्यक्ष सहितको एक समुहले घरघरमा पुगी अनुगमन गर्ने र बाँकी १० प्रतिशतलाइ पनि करेसाबारीमा तरकारी उत्पादन गर्न लगाउने उनले जानकारी दिए ।

फाइल फोटो

 

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार