• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

कृषि मन्त्री खनालले नै भने ‘राजाको पालामा भन्दा अहिले कृषिको क्षेत्र बिग्रियो’


साउन २७, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ९वलदेव०ले नेपालको कृषि उत्पादनको अवस्था अत्यन्तै बिग्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा आजदेखि सुरु एशियन कृषि सम्मेलन तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री खनालले नेताहरुले नेतृत्व गरेपछि कृषि क्षेत्र झनै बिग्रिएको टिप्पणी गरेका हुन् ।

उनले कृषि क्षेत्र विग्रिएको दायित्व सरकारले लिनुपर्ने बताए । ‘यसो भन्दा कसैलाई चित्त दुख्ला तर दलका नेताले नेतृत्व गरे पछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ, त्यसको कारण के हो ? यो सबैको दायित्व सरकारले लिनु पर्छ ।’ मन्त्री खनालले भने ।

मन्त्री खनालले कृषिमा युवाहरुलाई आकर्षित गर्न सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । उनले युवाहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन नगरी राज्यको विकास नहुने भन्दै अनुदान र सहुलियत ऋणको कार्यक्रमलाई व्यवस्थित गर्न खाँचो रहेको पनि औंल्याए ।

यसैबीच खनालले कृषि अनुसन्धान परिषदको कामकारबाही प्रभावकारी नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । उनले किसानको पक्षमा परिषदले देखिनी गरी काम नै गर्न नसकेको बताए । खनालले विषादी परिक्षण रोकिएको विषय सत्य नभएको भन्दै परीक्षण क्षमता बढाउन तिर सरकार लागेको बताए । उनले ट्रक जाँच गर्ने कुरा मात्र वैज्ञानिक नहुने बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ को सहकार्यमा भएको कार्यक्रम मंगलबारसम्म चल्नेछ ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार