• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

“कैलालीमा पक्राउ परेका व्यक्त्तिको प्रहरीले जनै र टुप्पी काटिदिपछि…!”


साउन २७, धनगढी । कैलालीको चुरे गाउँपालिकामा रक्सी खाएर होहल्ला गरेको भन्दै पक्राउ परेका एक व्यक्त्तिले प्रहरीले आफ्नो जनै र टुप्पी काटिदिएको आरोप लगाएका छन् । सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै भानसिंह धामीले प्रहरीले आफ्नो जनै र टुप्पी काटेर धार्मिक स्वतन्त्रता हनन् गरेको बताए।

कैलालीको चुरे गाउँपकालिका–६ फल्टुडे बस्ने धामीलाई रक्सी खाएर होहल्ला गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडेले साउन २० पक्राउ गरेको थियो। पक्राउपछि इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक माधव बिकले आफ्नो टुप्पी र जनै काट्न लगाएको धामीले बताए।

‘प्रहरीले टुप्पी र जनै काट्न लगाएर मेरो धार्मिक स्वतन्त्रामाथिको अधिकारलाई हनन् पुर्‍याउने काम गरेको छ’, उनले भने, ‘ममाथि प्रहरीबाटै अन्याय भयो, न्याय दिलाई दिन अनुरोध गर्दछु। मैले जीवनमा कहिल्यै मदिरा सेवन गरेको छैन, तर प्रहरीले मदिरा खाएको आरोप लगाएर मलाई झुठो केसमा समातेको हो।’

धामीले सोमबार नै जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीमा प्रहरीले आफ्नो धार्मीक स्वतन्त्रता हनन् गरेको भन्दै उजुरी समेत दर्ता गराएका छन्।

सो विषयमा इलाका प्रहरी कार्यालय फल्टुडेमा बुझ्न खोज्दा प्रहरी निरीक्षक बिक विदामा घर गएका र अन्य पदाधिकारीलाई कुनै जानकारी नभएको भन्ने जवाफ आयो।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार