• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको त्रिवेणीमा संचालित बालुवा उद्योग बन्द गर्नुपर्ने भन्दै प्रशासनमा पत्र


साउन २८, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका ३ ढुङ्गीबजारमा रहेको बालुवा उद्योग बन्द गर्नुपर्ने माग गर्दै स्थानीहरुले आज जिल्ला प्रशासन कार्यालय सल्यानमा ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोरा भुपेश डाँगी र भतिजा तेजबहादुर डाँगीले मापदण्ड विपरित उद्योग संचालन गरेको भन्दै उनिहरुले बन्द गर्न पत्र पेश गरेका हुन् ।

बागेश्वरी एग्रिकिट बालुवा नामबाट संचालित उक्त उद्योग कानुन विपरित दर्ता भई सिँचाई कुलोमा समस्या परेको स्थानीय सिचाँई कुलो उपभोक्ता समितीको अरोप छ । २८ जना स्थानीय उपभोक्ता समितीले हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेलाई पेश गरेको पत्रमा उक्त उद्योग वन, बस्ती र विद्यालय देखि टाढा हुनुपर्ने भएतापनि बजारकै बिचमा संचालनमा रहेको बताइएको छ ।

पत्रमा भनिएको छ, ‘हरियाली सामुदायीक वनबाट ५ सय मिटर टाढा हुनुपर्नेमा ५० मिटरको दुरी, त्रिवेणी माध्यामीक विद्यालयदेखि १ सय मिटर मात्र टाढा बजार र बस्तीसँग सटेको पीमखोला नदिको बीचभागमा र सयौँ रोपनी सिंचाँईयुक्त नहर मिचेर संचालन गरिएको छ ।’

त्यस्तै घरेलु उद्योगमा बालुवा प्रसोधन मात्रै गर्ने भनेर दर्ता भएको तर क्रसर उद्योग जस्तै गिट्टी, बालुवा, चिप्स, ड्रस शारदा नदिबाट अवैध रुपमा दोहोन भएको उनिहरुले बताएका छन् । उक्त उद्योगको इजाजतपत्र खारेज गरि संलग्न व्यक्तीलाई कानुनी दायरामा ल्याई उद्योग बन्द गराउन उनिहरुले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ न्यौपानेले यस विषयमा आफुलाई पहिले पनि निवेदन आएकोले अनुगमन समिती पनि बनाएको बताए । उनले उनुगमन समितीले यहि हप्तामा प्रतिवेदन पनि सार्वजनिक गर्ने आह्वासन दिए ।

यस विषयमा आफुले मात्रै केहि गर्न नसक्ने भन्दै उनले सबैसँग समन्वय गरेर प्रकृयाको गहिराईमा पुगेर निष्कर्ष निकाल्ने बताए । उनले भने, ‘नागरिकको प्रत्यक्ष जिवनमा कुनैपनि असर पर्न हुँदैन् । यसमा हामीले घरेलु उद्योग कार्यालयबाट पनि लिखित रुपमा जवाफ मागेका छौँ ।’

 

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार