• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

गायिका अन्जु पन्तले बाँडिन् दलित विद्यालयमा झोला र पोसाक


साउन ३०, पर्सा । गायिका अन्जु पन्त फाउन्डेसनद्वारा पर्सा जिल्लाको सखुवा पर्सौनी गाँउपालिका महुवनमा रहेको दलित प्राथमिक विद्यालयमा झोला र पोसाक वितरण गरिएको छ। फाउन्डेसनले विद्यालयमा अध्ययनरत २ सय बालबालिकालाई २ लाख ३० हजार बराबरको झोला र पोसाक वितरण गरेको हो।

दलित समुदायको बाक्लो बस्ती रहेको उक्त गाउँपालिकाको दलित विद्यालयमा हाल २ सय १० विद्यार्थी सङ्ख्या भए पनि नियमित रूपमा २ सय आउने गरेकाले त्यति नै सङ्ख्यामा सामग्री वितरण गरिएको फाउन्डेसनका कोषाध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए।

विशेष गरेर विद्यालय भर्ना हुने र छाड्नेको सङ्ख्या बढ्दै गएको अवस्थामा यस प्रकारका सहयोगले स्कुलप्रतिको आकर्षण बढ्ने फाउन्डेसनको अपेक्षा रहेको कोषाध्यक्ष घिमिरेले बताए।

बालबालिकालाई विद्यालय जानका लागि ऊर्जा दिन साथै विपन्नताका कारण खड्किएको समस्याको सानो अंश भए पनि पूरा गर्ने उद्देश्यका साथ उक्त सामग्री वितरण गरिएको गायिका पन्तले बताइन्।

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार