• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

पत्रकार रवि लामिछाने सहित ३ जना पक्राउ, दोषी ठहरिए कस्तो सजाय हुन्छ ?


साउन ३०, काठमाण्डौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

के भन्छ कानुन ?

मुलुकी फौजदारी संहिता १८५.२ मा आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

यो प्रकरणमा आत्महत्या गर्नुअघि पुडासैनीले रवि, युवराज र अस्मिताका कारण आत्महत्या गर्न बाध्य भएको भनेकाले त्यो कुरा पुष्टि भएमा कम्तिमा ५ वर्ष जेल सजाय हुनेछ। प्रहरीले तीनैजनालाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको हो।

पुडासैनीसँग उठबस भएको भनिएकी अस्मिता (रुकु) कार्कीलाई प्रहरीले बिहीबार बिहानै पक्राउ गरेर चितवन लगिसकेको छ। फौजदारी अभियोगमा पक्राउ परिसकेपछि २४ घण्टाभित्र अदालतको म्याद लिएर न्यायिक हिरासतमा राखिसक्नुपर्छ ।

विद्यमान कानुनअनुसार प्रहरीले रविसहितलाई २५ दिनसम्मको न्यायिक हिरासतमा राखी मुद्दा अभियोजन गर्नुपर्छ।

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार