• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा पुरुषहरुले समुह बनाएर भैंसी पालन गर्दै


मिना बुढाथोकी/ भदौ १, सल्यान । सल्यानको शारदा नगरपालिका १४ का पुरुषहरु समुह बनाएर भैंसी पालन तर्फ लागेका छन् । यहाँका २५ जना पुरुष विकास भैंसी पालन समुहमा आवद्द भई भैंसी पालन गरेका छन् ।

२०६४ सालदेखी समुह संचालन गरेर भैंसी पालन व्यवसाय शुरु गरेको विकास भैंसी पालन समुहका अध्यक्ष ६० वर्षीय घनश्याम भण्डारीले जानकारी दिए । अहिले सो समुहले बरला बजारमा कार्यालय समेत स्थापना गरेको छ ।

‘समुहमा आवद्द भएर काम गर्दा धेरै फाईदा हुने रहेछ, समुहका अध्यक्ष भण्डारीले भने, अलिअलि गरेर रकम पनी जम्मा हुने र त्यो रकम बाट कुनै सानो तिनो व्यवसाय गरम भन्दा पनि कम ब्याजदरमा समुह भित्रै सजिलै रकम पाउन सकिन्छ, त्यसले गर्दा पनी हामी जस्ता किसानलाई समुहमा आवद्द भएर काम गर्न आवश्यक छ ।’

२५ जनाको समुहमा करिब ६० वटा साना ठुला भैंसी रहेको उनले बताए । ‘समुहका प्रत्येक घरमा भैंसी छन् कसैले एउटै पाल्नु भएको छ भने कसैसंग दुईतिन वटा समेत छन् ।’ भैंसीको दुध विक्री गरेर अहिले मासिक १८ हजार आम्दानी हुने गरेको उनले बताए ।

अहिले यस विकास भैंसी पालन समुहको कोषमा आठ लाख बढी रकम जम्मा भएको समुहका व्यवस्थापक चेतकान्त शर्माले जानकारी दिए ।  समुहमा आवद्द भैंसी पालक किसान मध्ये यदि कसैको भैंसी मर्न गएमा समुहले १० हजार अनुदान समेत दिने गरेको छ । र किसानले यदि नयाँ भैंसी खरिद गर्न चाहेमा समुहबाट थप सुपथ व्याजदरमा आवश्य रकम समेत दिने गरेको उनले बताए ।

यस्तै समुहमा आवद्द भैंसी पालक किसानको मृत्यु भएको खण्डमा समेत समुहले मृतकका परिवारलाई थोरै भएपनि राहत स्वरुप रकम दिने गरेको छ । ‘समुहमा आवद्द कसैको कालगतिले ज्यान गयो भने समुहले क्रिया खर्च बापत मृतकका परिवारलाई एक हजार रकम समेत दिने गरेको छ उनले भने,त्यो रकम धेरै त होइन तर पनि केही राहत पुगोस भनेर दिने गरेका छौं ।’

हुनत एक्लैले पनि भैंसी पालन गर्न सक्छ तर यसरी समुहमा आवद्द भएर भैंसी पालन गर्दा एक अर्कासंग दाईभाईको नाता पनि जोडिने र  सहयोग आदान प्रदान गर्नुका साथै केही रकम समेत जम्मा हुने भएकाले लाभदायी भएको समुहका अध्यक्ष भण्डारीको भनाई रहेको छ ।

पानी र बजार को समस्या

यहाँका भैंसी पालक कृषकलाई बजार को भने समस्या रहेको छ । यस भेगमा सडक संजाल संग जोडिएपनि शारदा नदी पार गरेर बजार सम्म पुग्नु पर्ने अवस्था रहेकाले बर्खाको समयमा दुध विक्री गर्न समस्या हुने कृषकहरुको भनाई छ ।

यहाँको स्थानीय बजार बरला सम्म पुग्न समेत आधा घण्टा पैदल दुरीमा हिड्नु पर्ने अवस्था रहेको बताउँदै स्थानीय कृषकले अन्य हिसाबले भैंसी पालन गर्न योग्य रहेको यस क्षेत्रमा पानीको पनि समस्या रहेको बताए ।

शारदा नदिमा पक्की पुल निर्माण भएको खण्डमा भने यहाँ उत्पादन भएको दुध संगै तरकारी लगायतका कृषि सामाग्री किन्न व्यापारी घरमै आउन सक्थ्ये समुहका सचिवले भने, उत्पादन राम्रो हुने यस क्षेत्रमा यातायातका साधन नियमित गर्न सके किसानले आम्दानी राम्रो गर्न सक्ने सम्भावना भएको क्षेत्र हो ।

हाम्रो समाजमा काम गरि खाने वर्गालाई हेला गर्ने प्रवृति रहेको बताउँदै उनले भने,‘मैले यस्ता व्यक्तीको विरोध पनि गर्छु, आप्mनो देशमा कृषि पेशागर्न लाज मान्ने तर खाडी मुलुमा गएर पढेलेखेकाले समेत यस भन्दा तल्लो स्तरको काम गर्नपनि तैयार हुने यस्ता युवाहरुलाई स्वदेशमै काम गर्नसके घरमै बसेर पनि आम्दानी गर्न सकिन्छ ।’

सरकारी स्तरबाट कृषि पेशालाई सम्मान गर्न सके र कृषकले पाउनु पर्ने अनुदान पाउन सकेमा र बेलाबेलामा किसानलाई आवश्य पर्ने तालीम र सीपहरुको समेत व्यवस्था राज्यले गर्न सक्यो भने यस प्रति युवाहरुको पनि आकर्षण बढ्न सक्ने उनले बताए ।

 

प्रकाशित मिति : २०७६ भाद्र १ गते आइतवार