• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको पश्चिम क्षेत्रमा टेलिफोनमा पनि ‘लोडसेडिङ’


इन्द्र बुढाथोकी/ भदौ ३ सल्यान । सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा पनि टेलीफोनमा लोडसेडिङ हुने गरेको छ । नगरपालिकाको वडा नम्बर ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा यस्तो समस्या आएको हो ।

विगत लामो समयदेखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, शिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिका सहित अन्य स्थानका बासिन्दा सन्चार क्षेत्र बाट बन्चित भएका छन । २०६६ सालमा निर्माण भएको यो टावर अहिले सम्म सोलारको भरमा चलिरहेको छ ।

टावर संचालन गर्न ६५ वाटका ३६ वटा सोलार रहेका छन । निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १० देखि १२ घण्टा सम्म मात्र टावर संचालन हुँदै आएको छ ।

वर्ष भरी नै टावरमा समस्या आउँदा र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साझ ६ बजेसम्म १० टावर सन्चालन हुने गरेको टावर संचालक शेर बहादुर पुनले जानकारी दिए । स्थानीय सम्बन्धित निकायले कुनै चासो नदिएको कारण समस्या समाधान हुन नसकेको उनले बताए ।

यसरी संचारमा लोडसेडिङ हुँदा सेवाग्राहीहरुलाई टेलिफोट तथा इन्टरनेट चलाउन निकै समस्या हुनेगरेको छ । चर्को घाम लागेको समयमा सञ्चार प्रवाह हुने तर बादल लागेको समयमा सञ्चारमा लोडसेडिङ हुने भएपछि यहाँका स्थानीयहरु रातको समयमा सञ्चारको पहुँचबाट टाढा रहनुपर्ने समस्या वर्षौ हुँदा पनि समाधान हुन सकेको छैन ।

यो क्षेत्र सल्यान प्रदेशसभा (ख) का सांसद तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेशसभा (क) का सांसद गुलावजंग शाह, सत्तारुढ नेकपा सल्यानका अध्यक्ष गोविन्द पुन र सचिव कर्ण बहादुर बुढाथोकीको क्षेत्र हो । जिल्लाकै प्रभावशालि नेताको क्षेत्रमा यसरी टेलिफोनमा लोडसेडिङ हुँदा जनता निराश हुने गरेका छन् ।

त्यस्तै तारुपारेको  टावर सँगै सल्यान पश्चिम क्षेत्रकै बनगाड कुपिण्डे ५ लाटुगैरे, वडा नं. ११ माझकाडा, सुर्खेतको सिम्ता गाउँपालिका काप्रिचौर, गुमिचुली डाडाँहरुमा रहेका टावरमा समेत समस्या आएको छ । यी सबै टावर सोलार बाट संचालन हुँदै आइरहेका छन ।

यसैबिच देवस्थलको राता डाडामा बन्दै गरेको जिएसएमको टावरको काम पनि सुस्त गतिमा भैरहेको छ । उक्त जिएसएमको टावर केहि महिना भित्रै सुचारु भएमा नगरको केन्द सल्लीबजारका नागरिकको वर्षेनी फोनको पिरोलो निराकरण  हुनेछ । तर ग्रामीण बस्ती स्तरका नागरिक भने अझै फोन बाट बन्चित हुने देखिन्छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार