• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका युवाहरु बाँझो जमिनमा घाँस रोपेर व्यवसायीक बाख्रा पालन गर्दै


मिना बुढाथोकी / भदौ ४, सल्यान । सल्यानमा व्यवसायीक रुपले बाख्रा पालन गर्ने उद्देश्यले युवाहरुले सामुहिक घाँसखेती सुरु गरेका छन् । गाउँमा रहेको बाँझो जमिनलाई भाडामा लिएर सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटमा युवाहरुले ५० रोपनी जग्गामा घाँस खेती सुरु गरेका हुन् । व्यवसायिक रुपले बाख्रा पालनका लार्गी भुँइ घाँस र डाले घाँस आवश्यक पर्ने भएकाले घाँसखेती सुरु गरेको  यस कार्यका अभियन्ता राष्ट्रिय कृषि विकास कम्पनीका अध्यक्ष किरण शाहीले जानकारी दिए ।

उनले नेपालको कृषि क्षेत्रमा ठुलो योगदान पुर्याउने तथा किसानलाई सामान्य लगानीबाट व्यवसायीक बनाउने र सामुहिक रुपमा कम्पनी गठन गरेर किसानहरुको उत्पादन वृद्धि र रोजगारीको सृजना गर्ने उद्देश्यले यस अभियानको सुरुवात गरेको बताए । युवाहरुले कर्णाली प्रदेशमा अर्गानिक मासु उत्पादन गर्ने उद्देश्यले सामुहिक रुपमा सामान्य लगानीमा बाख्रा पालन व्यवशाय गर्न योजना बनाएर अगाडी बढेका हुन् ।

स्थानीय तह र सरोकारवाला निकाय संग समन्वय गरेर किसानले उत्पादन गरेका सामानलाई बजारीकरण गरिने छ । यस अभियानको शुरुवाती चरणमा समस्या आएको तर अहिले आएर पहिलो चरणको सफलता हात परेको किरण शाहीले बताए । उनले भने, ‘हामीले बाँझो रहेको जमीनलाइ जोतर डेमो प्लट निर्माण गरेका छौं, डेमो प्लटमा करिब चार हजार विरुवा रोपिएका छन् ।’

किसानहरुको आफ्नै लगानीमा सुरु भएको यस कार्यलाई सफल बनाउन किसानहरु आफै जागरुक भएका छन् । अहिले २५ जनाको समुहमा सबै वर्ग र उमेर समुहका व्यक्तीहरु सहभागी बनाएर अगाडी बढेको स्थानीय कमल प्रसाद उपाध्यायले बताए । अहिले वैदेशिक रोजगारीमा रहेका युवाहरु समेत फर्किएर यस समुहमा आवद्द भइ काम गर्न थालेको उनले जानकारी दिए ।

युवाहरुले सुरुवात गरेको यस कार्यले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने र कृषि पेशालाइ व्यावसायिक रुपले अगाडी बढाउन मद्दत पुग्ने छ । किसानले परम्परागत खेती मात्रै नभइ व्यवासायिक रुपले पशुपालन गर्दा बढी आम्दनी गर्न सकिने भएकाले बाख्रा पालन गर्दा घाँसको आवश्यकता हुने भएकाले घाँस खेती सुरु गरेको  समुहमा आवद्द युवाहरु बताउँछन् ।

नेपाल इन्भेस्टमेन्ट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खगेन्द्र शाहीले व्यवसायिक रुपले बाख्रा पालन गर्नकै लागी घाँसको आवश्यकता पर्ने भएकाले बाँझो जग्गामा मात्रै नभइ उत्पादन हुने जमिनमा पनि घाँसखेती सुरु गरेको बताए । उनले मकै भटमास संगै घाँसपनि रोपिएको र यस सिजनको खाद्यान्न बाली भित्र्याएपछि आगामी वर्षदेखी घाँस खेतीलाइ निरन्तरता दिने बताए ।

युवाहरुले सुरु गरेको यस कार्यमा स्थानीय तहले पनि चासो दिएको छ । युवाहरुले स्थानीय उत्पादनलाइ प्रोत्साहन दिनेगरि कृषि पेशला अंगालेकोमा सम्न्धित वडाले सहयोग समेत गरेको छ । युवाहरुको यस कार्यको अहिले जिल्लामा चर्चा हुन थालेको छ । शारदा नगरपालिकाले समेत युवाहरुको यस कार्यका लागी आवश्यक सहयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार