• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

बुद्धको मूर्तिलाई सुनको जलप लगाएर बिक्री गरेको आरोपमा दाङमा ५ जना पक्राउ


भदौ ४, दाङ । पाँच किलाको पितलको बुद्धको मूर्तिमा सुनको जलप लगाएर बिक्री गरेर फर्किने क्रममा दाङमा ५ जना पक्राउ परेका छन् । दाङ र भारतको सिमाना भैसाहीमा भारतीय नागरिकलाई सुनको बुद्धको मूर्ति भनेर विक्री गरेर फर्किने क्रममा उनिहरु पक्राउ परेको प्रहरीको आरोप छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–२ प्रेमनगर बस्ने ४२ का शसे विक, सोही ठाउँका ३३ की मन कुमारी खत्री, रोल्पाको त्रीवेणी गाउँपालिका–९ डरुवा बस्ने ४३ का प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका–८ बस्ने २७ पूर्ण विक र तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निनबासी २७ बर्षकी हिरा विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनिहरुको साथबाट मुर्ति बेचेको १५ लाख ८९ हजार ५ सय अवैध भारतीय रुपैयाँ बरामत गरिएको प्रहरीले जनाएको छ । उनिहरुलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाको टोलीले पक्राउ गरेको हो ।

उनिहरुलाई थप अनुसन्धानको लागी राजश्व विभाग कोहलपुर बाँके पठाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार