• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

१८ करोड हिनामिना गरेको आरोपमा दाङमा बैंक म्यानेजर पक्राउ


भदौ ४, दाङ । बैंकको करिब १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंकका म्यानेजर पक्राउ परेका छन । दाङको नारायणपुरमा रहेको देवः विकास बैंकका म्यानेजर समिर बुढाथोकी रकम हिनामिनाको आरोपमा पक्राउ परेका हुन्।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी २९ वर्षिय बैंकका म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ । यसअघि दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक केहि महिना अघि एक भएर देवः विकास बैंक बनेको थियो । उनी वेस्टर्न विकास बैंक मर्ज भएसँगै देवः विकास बैंकमा समाहित भएका थिए।

वेष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्‍कली ऋणी बनाएर रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरी निरीक्षक राजन गौतमले भने, ‘नक्‍कली ऋणि बनाएर बैंकबाट रकम निकासा गरेको आंकलन गरिएको छ, अन्य कुरा खुल्दै छ।’ १८ करोड रकम हिनामिनामा बुढाथोकी एक्लैको मात्रै हात नरहेको आशंका गर्दै प्रहरीले बैंकका सञ्चालक तथा थप कर्मचारीमाथि पनि निगरानी बढाइएको बताएको छ।

प्रहरीले उनलाई मंगलबार राति लमहीबाट पक्राउ गरेको जनाएको छ। बुढाथोकीविरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक राजन गौतमले बताए । उनलाई आज उच्च अदालत तुलसीपुरको नेपालगञ्ज वाणिज्य इजलासमा म्याद थपका लागि लगिएको छ । दाङमा वाणिज्य इजलास नभएकोले उनलाई बाँके लगिएको हो ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार