• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यान खलंगाको खानेपानी महंगो !


भदौ ४, सल्यान । सल्यान सदरमुकाम खलंगाको खानेपानी महंगो भएको छ । विगत दुईवर्ष अघि शारदा नदिबाट लिफ्टीङ सिस्टमबाट खलंगा पुर्याइएको खानेपानी अहिले शारदा नगरपालिका वडा नं. १, २, ३ र ४ का नागरिकहरुले प्रयोग गर्दै आएका छन् ।

करिब साढे १६ सय घरधुरीले प्रयोग गर्ने खानेपानीको मासिक महशुल महंगीदै गएको हो । यहाँ प्रतिघरले मासिक ५ सय देखि ५ हजारसम्मको महशुल तिर्न बाध्य हुन थालेका छन् ।

विद्युतको अत्याधिक महशुल र नगर विकास कोष काठमाडौँमा केही ऋण भएको कारण महशुल महंगो भएको खलंगा शितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष केशब बुढाथोकीले बताए ।

विद्युत खर्च धेरै

शारदा नदिबाट खलंगामा पानी तानेको मात्रै विद्युत खर्च मासिक ३ लाख भन्दा धेरै आउने गरेको अध्यक्ष बुढाथोकीले बताए । विद्युत नभएको बेला जेनेरेटर चलाउनु परेको र जेनेरेटरको मासिक १ लाखसम्म खर्च हुने गरेको उनले बताए ।

गएको फागुन १० गते उर्जा मन्त्री वर्षमान पुन सल्यान आएको बेला विद्युतको महशुल कम गरिदिनु पर्यो भन्दै खलंगा शितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले ज्ञापन पत्र बुझाएको थियो । तर अहिलेसम्म त्यसको कुनै सुनुवाई नभएको देखिन्छ ।

त्यस्तै तत्कालिन समयमा खानेपानी योजना ल्याउदा नगर विकास कोषबाट ३ करोड ७९ लाख रुपैया ऋण लिएको र त्यो ऋण तिर्न अहिले प्रति महिना ३ लाख १३ हजार बुझाउनु परेको समितीले जनाएको छ । यो ऋण २० वर्षसम्म ४० किस्ता बुझाउनु पर्ने छ । जसको ब्याज सहित अन्तिमसम्म ७ करोड भन्दा धेरै हुन्छ ।

त्यसैगरी उपभोक्ता समितीमा जम्मा १९ जना कर्मचारी कार्यरत छन् । जसको लागी मासिक ३ लाख ४० भन्दा धेरै तलब खर्च हुने गरेको छ । यो खर्चले गर्दा नै सल्यान सदरमुकामका मासिनहरु महंगो शुल्कमा खानेपानी खान बाध्य भएका छन् ।

पानीको दररेट

यहाँ विद्युत खर्च धेरै भएको कारण पानीको महशुल महंगो भएको अध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार उपभोक्ताले न्युनतम ७ हजार लिटर पानीको ३ सय रुपैया तिर्ने गरेका छन् ।

तर त्यसभन्दा धेरै वृद्धि भएमा ५ हजार लिटर पानीको अन्तरमा मुल्य पनि वृद्धि हुँदै जान्छ । शारदा नदिबाट लिफ्टीङ मार्फत आएको पानीलाई जडान गर्नको लागी प्रतिघर २५ हजार शुल्क रहेको छ । ग्रहाकहरुबाट प्रति महिना ५ लाखदेखि ७ लाख सम्म महशुल संकलन हुने गरेको छ ।

कम क्षमताका ट्याङ्की

लिफ्टीङ मार्फत आएको पानीलाई संकलन गर्ने ट्याङकी ठुलो नहुँदा समस्या हुनेगरेको छ । अहिले लिफ्टबाट आएको पानी खलंगामा दुईवटा ट्याङ्कीबाट मात्रै हुने गरेको छ ।

एउटा ५० हजार लिटरको टुडिखेल र अर्को १ लाख लिटरको जिल्ला प्रशासनको डाँडोमा रहेको छ । यो संकलन गरेको पानी वितरण गर्दा एकैछिनमा सकिने गरेको अध्यक्ष बुढाथोकीले बताए । उनले खलंगामा कम्तीमा ४ लाख लिटरको ट्याङ्की बनाउन सके खानेपानीमा समस्या नहुने बताए ।

कसरी घटाउन सकिन्छ मुल्य

सर्वप्रथम पानीको मुल्य कम गर्नको लागी विद्युत महशुल घटाउनुपर्ने देखिन्छ । अत्याधिक विद्युत महशुल लाग्दा पानीको महशुल पनि बढेको अध्यक्ष केशब बुढाथोकीले बताए । त्यसको लागी प्राधिकरणको केन्द्रीय तहमा कुरा पनि भैरहेको उनको भनाई छ ।

त्यसैगरी तत्कालिन समयमा खानेपानी संचालन गर्न नगर विकास कोष काठमाडौंबाट ल्याइएको ऋण तिर्न सके महशुल कम हुने उनको भनाई छ । जसको लागी नगरपालिका वा अन्य कुनै निकायले सहयोग गरे समस्या सामाधान हुने उनले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार