• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा वडाध्यक्ष ठेकेदार बनेको विद्यालयमा कामदारले ज्याला नपाएपछि…


भदौ ५, सल्यान । सल्यानको दार्मा गाउँपालिका १ मा रहेको राष्ट्रिय मा.वि. दार्माकोटको भवन निर्माणको ज्याला नपाएको भन्दै मजदुरहरुले बिहीबार  विद्यालयमा तालाबन्दी गरे । तत्कालीन जिल्ला शिक्षा कार्यालय सल्यानबाट ३२ लाख परेको बजेटले भवन निर्माण र स्थानीय सडकमा परेको ४ लाख बजेटले जग्गा खरिद गरियो । काम सम्पन्न भएको भन्दै दुईवर्ष अघिनै पैसा पनि भुक्तानी भयो ।

तर २ वर्ष बितिसक्दा पनि कामदारले ज्याला नपाएको गुनासो गर्दै विद्यालयमा तालाबन्दी गरे । पटकपटक ध्यानाकर्षण गराउदा पनि निर्माण समितीले पैसा दिन्छु भन्दै अल्झ्याई रहेको र अन्तीम विकल्पमा ताला लगाउनु परेको एक मजदुरले लेकाली अनलाइनलाई बताए । मजदुरहरुले पाउनुपर्ने करिब ५ लाखसम्मको रकम थियो ।

भवन निर्माणको ठेक्का वडा नम्बर १ का वडाध्यक्ष कवी कुमार चन्द सहित ३ जनाले लिएका थिए । चन्द विद्यालय व्यपस्थापन समितीका अध्यक्ष पनि हुन् । विद्यालयमा ताला लागेपछि इलाका प्रहरी कार्यालय दार्माको रोहबरमा फारुलामा दुवै पक्षबिच बिहीबार नै बैठक बस्यो ।

निर्माण समितीले कामदारलाई ज्याला दिने सहमती गरेपछि बैठक सकियो र विद्यालयको ताला खुल्यो । यो सबै काम एकैदिन भयो । बिहान ताला लाग्न बित्तीकै बैठकको पहल भयो । दिउँसो बैठक बसेर निस्कर्षमा टुंगीयो ।

लामो समयसम्म कामदारले किन पाएनन् ज्याला

कामदारले पटकपटक ज्याला माग्दा निर्माण समितीले दिन्छु भन्दै आएको थियो । कामदारका अनुसार निर्माण व्यवसायीले अन्य कुनै योजना पार्ने र त्यसपछि ज्याला दिन्छौँ भन्दै आएको थियो । त्यही कुरालाई विश्वास मान्दै कामदारहरु प्रतिक्षा गरिरहेका थिए । तर अन्त्यमा उनिहरु सहन नसकेर तालाबन्दी गरे ।

यस विषयमा लेकाली अनलाइनले भवनको ठेक्का लिएका वडाध्यक्ष कवी कुमार चन्दलाई सम्पर्क गर्यो । फोन संवादका क्रममा उनले सहजै रुपमा भने, ‘हामीले सुरुमै पैसा दिन खोजेका हौँ । तर हामीलाई ठेक्कामा घाटा लाग्यो । ३२ लाखको २० प्रतिशत जनश्रमदान गर्नुपर्ने थियो । तर स्थानीय जनश्रमदान नै गरेनन् । त्यसपछि हामीले सबै काम कामदारलाई नै ज्यालाको रुपमा दियौँ । त्यसपछि हामीलाई घाटा लाग्यो ।’

अब ठेक्का लिएका ३ जनाले कामदारलाई पैसा दिने उनको भनाई छ । ३२ लाख बजेटले निर्माण भएको यो भवन दुई तलाको ४ कोठाको छ ।

विद्यार्थीको खाजाको पैसा पनि पाइएन 

त्यस्तै विद्यालको खाजाको लागी नेपाल सरकारबाट छ्याइएको रकम पनि नपाएको भन्दै स्कुलमा रहेको क्यान्टीन नै बन्द भएको छ । प्रति विद्यार्थी दैनिक १५ रुपैयाका दरले पाउनुपर्ने पैसा नपाएकोले बन्द गर्नुपरेको खाजा व्यवस्थापको जिम्मा लिएका सुरेश चन्दले बताए ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘मैले उधारो सामान ल्याएर विद्यार्थीलाई खाजा खुवाउछु, तर स्कुलले ३ महिनादेखि पैसा नै दिएको छैन् ।’ उनले ३ महिनाको करिब ८० हजार जति पैसा पाउन बाँकी रहेको बताए ।

यता विद्यालयका प्रधानध्यापक हेमन्त ओलीले विद्यालयको खाता रोकिएको कारण खाजाको पैसा दिन नसकेको बताए । गाउँपालिकाले अनुदान शिक्षकको लागी खाता रोकेको कारण खाजाको पैसा पनि रोकिएको उनले बताए । तत्काल अनुदान शिक्षक राख्नको लागी विज्ञापन खोलिसकेको र शिक्षक नियुक्ती भएपछि मात्रै खाता खोलिने उनको भनाई छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार