• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सर्वोच्चको आदेशपछि अब एनसेलले तिर्नुपर्ने कर कति ?


भाद्र १०,  काठमाडौँ । सर्वोच्च अदालतलको बृहत पूर्ण इजलासले ठूला करदाता कार्यालयले एनसेललाई निर्धारण गरेको ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण बदर गरेपछि अब तिर्नुपर्ने कर रकम कति हो भन्ने बहस सुरु भएको छ । ठूला कर दाता कार्यालयले २०७६ वैशाख ३ गते एनसेलले अहिलेसम्मको बिलम्ब शुल्क, व्याजसहित ६२ अर्ब ६३ करोड कर निर्धारण गरेर बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ सात दिनभित्र तिर्न निर्देशन दिएको थियो ।

कार्यालयको उक्त निर्णयविरुत एनसेल अन्यायपूर्ण रुपमा कर निर्धारण भएको जिकिरसहित गएको वैशाख ९ गते सर्वोच्च गएको थियो । सर्वोच्चले सोमबार ठूला करदाता कार्यालले वैशाख ३ गते गरेको निर्णय बदर गरेर नयाँ ढंगले कर निधारण गर्न आदेश दिएपछि अब एनसेलले कति कर तिर्नुपर्ने हो भन्ने चासो बढेको हो।

एनसेलले १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारमा पूँजीगत लाभ कायम गरी त्यसको २५ प्रतिशत हुन आउने ३५ अर्ब ९१ करोड ३४ लाख २६ पाँच सय रुपैयाँ मात्र पूँजीगत लाभ हुनुपर्ने जिकिर गरेको छ। जसमध्ये उसले दुईपटक गरी २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ कर र २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ बिलम्ब शुल्क बुझाएको र त्यसबाट बाँकी हुन आउने १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रुपैयाँ मात्र तिर्ने जिकिर गर्दै आएको छ।

एनसेलले आय कर ऐन २०५८ को दफा ९९ बमोजिम कर निर्धारण हुनुपर्नेमा कानुन र सर्वोच्चको आदेशको अपव्याख्या गरी दफा १०२ अनुसार कर निर्धारण गरेको जिकिर गरेको छ। एनसेललाई ठूला करदाता कार्यालयले प्रारम्भिक रुपमा २०७४ असार १३ गते मात्र प्रारम्भिक रुपमा कर निर्धारण गर्दै ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ तिर्न भनेको थियो ।

उक्त निर्णयपछि मात्र एनसेललाई करको दायित्वबारे जानकारी भएको र सो निर्धारण गर्दा आफ्नो कारोबारको विवरण एवं शेयर खरिद बिक्रीसम्बन्धि कागजता पेश गर्ने मौका नदिएको सर्वोच्चको आदेशमा उल्लेख छ । सोमबारको आदेशपछि अब एनसेलले २०७४ असार १३ गते निर्धारण भएको ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ मात्र तिर्ने कि एनसेलकै दाबी अनुसार ३५ अर्ब ९१ करोड ३४ लाख २६ पाँच सय रुपैयाँ तिर्ने वा अन्य विधिबाट कर निर्धारण गर्ने भन्ने निर्णय ठूला करदाता कार्यालयले गर्नुपर्ने भएको छ।

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार