• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

उपप्रमुखलाई पद मात्रै दिइयो तर भुमिका विहीन बनाइयो : उपप्रमुख बस्नेत


भाद्र १२, सल्यान । सल्यान शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले स्थानीय तहमा महिलालाई उपप्रमुखको पद मात्र दिईएको तर अधिकारमा काम नदिईएको बताएकी छन् । उनले राजनीतिक पहुँच हुनेहरु प्रमुख बनेर सत्तामा आएको तर उपप्रमुखमा महिलालाई राखेर भुमिका विहीन बनाउन खोजिएको आरोप लगाईन् ।

खलंगामा बिहीबार भएको एक कार्यक्रममा बोल्दै बस्नेतले उपप्रमुखको भुमिकामा रहेका महिला जनप्रतिनिधिलाइ काममा समस्या भएको दुखेसो पोखेकी छन । समाजमा महिलाप्रति हेर्ने दृष्टिकोण राजनीतिक नेतृत्वमा खराव भएको भन्दै उनले नगरको तर्फबाट हुने कार्यक्रमहरु उपप्रमुखले देख्नै नपाउने दुखेसो पोखेकी हुन ।

नगरभित्रका विभिन्न समितिका काम कर्तव्य र अधिकारका विषयमा आफुलाई जानकारी नहुनुले समावेशी सहभागितामा प्रश्न उठाएको भन्दै सोचाइमा परिवर्तन ल्याउनुपर्ने उनले बताएकी छन् ।
महिलालाई संविधानमा सहभागिताका लागि सहभागिता मात्रै भएको भन्दै उनले निर्णय प्रक्रियामा भाग लिन नदिएको गुनासो गरेकी हुन ।

नगरमा हुने कार्यक्रमका साथै कति कर्मचारी भर्ना तथा छनौट भए वा कुन कर्मचारी कहाँबाट सरुवा भएर आइ काम गर्दैछ त्यो बारेमा पनि जानकारी नहुनु दुखद भएको उनले बताइन् । उनले आफुले चाहेपनि नगरप्रमुखले असारबाट यता एकपटक पनि छलफल नगरेको भन्दै विभिन्न योजनाको अनुगमनको जिम्मा आफ्नो भएतापनि प्रमुखले अन्य कर्मचारीलाई दिएर भुमिका विहिन बनाउन खोजेको आरोप लगाइन ।

बजेट विनियोजनका विषयमा पहिलो बर्ष आफुलाई कुनै थाहा नभएपनि पछिल्ला २ बर्ष आफुले लक्षित वर्गको लागि बजेट विनियोजनको कुरा उठाउदा किन चाहियो लक्षित बर्गलाई रकम सिंगो नगर विकास भएमा त सबैलाई पुग्छ भनेर वडा अध्यक्षहरुले पनि कुरा नसुनेको दुखेसो पोखिन ।

त्यस्तै उनले पत्रकारहरुले पनि जनपक्षीय रुपमा काम नगरेको भन्दै आक्रोश पोखेकी छन् । उनले भनिन्, “पत्रकार मित्रहरू आफ्ना संस्था र एनजिओ चलाउन लाग्नुभयो, जनप्रतिनिधिका राम्रा कुरा मात्रै लेखेर कार्यक्रम पाउन तिर व्यस्त हुनुहुन्छ । तर बेथितिका बारेमा समाचार लेख्नै हुनुहुन्न”

स्थानीय तहमा केही राम्रा कामभएको र केही बेथिति भएको भन्दै उनले पत्रकारहरु जागरुक हुनुपर्ने बताईन् । पत्रकारहरुले स्वतन्त्र रुपमा समाचार लेख्नुर्ने भन्दै उनले कार्यक्रम पाएको भन्दै नडराउन आग्रह गरिन् ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार