• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

एनसेल कार्यालयमा तालाबन्दी देखि भ्रष्टाचारीलाई कालोमोसो दल्ने विप्लवको घोषणा


भाद्र १४, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर असुलीबारे सर्वोच्च अदालतको निर्णय राष्ट्रघाती भएको ठहर गरेको छ। सरकारकै इसारामा एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय भएको उक्त पार्टीले जनाएको छ।

शनिबार उक्त पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै अदालतको आदेशविरुद्द चरणवद्द आन्दोलन गर्ने घोषणा गरेका छन्। एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्न समेत विप्लवले आग्रह गरेका छन् ।

सरकारकै इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै भदौ १७ गते न्यायधिसहरुको पुत्ला दहन, भदौ १९ गते देशभरी मशाल जुलुस, भदौ २१ गते एनसेलका कार्यालयहरुमा विरोध प्रर्दशन, भदौ २३ गते एनसेल कार्यालयहरुमा तालाबन्दी र भदौ २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्नेसहितको कार्यक्रमहरु नेकपाले घोषणा गरेको छ ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘भदौ १० गते सर्वोच्च अदालतले एनसेल कर असुलीबारे अत्यन्त विवादास्पद निर्णय गरेकोप्रति पार्टीको ध्यान विशेष रुपले तानीएको छ । एनसेलले ७५ अरब कर छली गरेर जनता र देशलाई कंगाल बानाइरहेको स्पष्ट छ । एनसेलको ठगीप्रति हर नागरिक चिन्तित र आक्रोसित छन् । नालायक भ्रष्ट सरकारले देशको सम्पत्ति रक्षा गर्नुको साटो मिलोमतो गरेर गम्भीर अपराध गरिरहेको छ ।’

देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दा केपी सरकारको प्रतिबन्ध र दमन आफुहरुले झेलिरहेको विप्लवले बताएका छन् । सरकारकै इसरामा सर्वोच्चका केही भ्रष्ट न्यायधिसहरुले आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसलालाई उल्टाउँदै एनसेलले साढे १८ अरब तिर्न नपर्ने राष्ट्रघाति निर्णय गरेको विप्लवको ठहर छ ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार