• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

जुम्लामा दोस्रो स्याउ महोत्सव


भाद्र १४, जुम्ला । जुम्लाको  खलंगामा सुरु भएको दोस्रो स्याउ महोत्सव कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले उद्घाटन गरेकी छन्। मन्त्री केसीले दीप प्रज्ज्वलन गरि स्याउ महोत्सवको उद्घाटन गरेकी हुन्।

मन्त्री केसीले महोत्सवमा राखिएका जुम्लाको अर्गानिक स्याउका एक सयभन्दा बढी स्टलहरुसमेत अनुगमन गरेकी थिइन् । अवलोकनपछि मन्त्री केसीले कर्णाली प्रदेशको पहिचानको आधार स्याउ भएकाले अब उत्पादन वृद्धि गर्न किसानलाई आग्रह गरिन् ।

स्याउ प्रशोधन केन्द्रको डीपीआर

मन्त्री केसीले पहिलो पटक कर्णालीको जुम्लामा स्याउ महोत्सवमा उपस्थित हुन पाउँदा खुसी भन्दै प्रदेश सरकार जुम्लाको स्याउ बजारीकरणमा देखिएको चुनौति समाधान गर्ने तर्फ लागेको बताइन्।

‘स्याउलाई उचित बजारीकरण, प्याकेजिङ, लेवलिङ गर्न सकिएन् भन्ने गुनासो किसानबाट सुन्ने गरेकी छुु’, मन्त्री केसीले भनिन्, ‘जुम्लाको स्याउ बजारीकरणमा हामी सबैको चुनौति देखिएको छ। कणार्ली प्रदेश सरकार अब चुनौति समाधान गर्नको लागि योजना अघि बढाउँछ।’

उनले कर्णाली प्रदेश सरकारले जुम्लामा बहुउपयोगी स्याउ प्रशोधन केन्द्रका लागि डीपीआर तयार गर्ने बताइन् । डीपीआर र कृषकलाई उत्पादनका लागि डेढ करोड रुपैयाँ बजेट समेत विनियोजन गरिएको बताइन् । उनले अब कर्णालीमा कोक र फेन्टा नभइ होइन स्याउको जुस उत्पादन गर्न आवश्यक रहेको भन्दै हरेक पालिकामा जैविक विषादी केन्द्र स्थापना गर्न आवश्यक रहेको बताइन् ।

स्याउ किसान पुरस्कृत

यसैगरी स्याउ मेलामा राखिएका स्टलका स्याउ किसानहरु पुरस्कृत भएका छन् । रोयल डेलिसियस स्याउतर्फ चन्दननाथ नगरपालिका ७ का रत्नबहादुर बम प्रथम, चन्दननाथ ६ का राजु मल्ल द्वितीय र चन्दननाथ १० का पुस्प खत्री तृतीय भएका छन्।

त्यसैगरी, रेडडेलिसियसतर्फ चन्दननाथ ६ का गोरखबहादुर सुनार प्रथम, चन्दननाथ ८ का भैरवबहादुर धराला द्वितीय र गुठिचौर ४ का हरिप्रसाद देवकोटा तृतीय भएका छन् । रबागवानी अनुसन्धानकेन्द्रका राजकुमार गिरी, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका अमित भूषण सुमन र स्याउ सुपरजोन जुम्लाका जागेन्द्र कान्दुले स्याउको मूल्यांकन गरेका थिए ।

स्याउको फलको आकार, जातीय शुद्धता, स्याउ फलको रंग, रोगकिराको अवस्था, ग्रेडिङ र प्याकेजिङका आधारमा उत्कृष्ठ किसान छनोट गरिएको थियो ।

 

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार