• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

नेपालमा बैंकिङ सिस्टम ह्याक, अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द


भाद्र १५, काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ ।

प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’ एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ । स्रोतका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ सिस्टम १२-१५ वटा बैंकहरुले प्रयोग गरेका छन् र ती सबै बैंकहरुको एटिएम चलेका छैनन् ।

गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले  जानकारी दिए ।

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने समूहविरुद्ध काठमाडौं प्रहरी परिसरले विशेष अपरेसन चलाएको थियो । यो समूह पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलता ठानेको छ । काठमाडौं प्रहरी प्रमुख सुवेदीले भने, ‘गएरातिको हाम्रो अपरेसनले ठूलो रकम जोगिएको छ ।’

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार