• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन


मिना बुढाथोकी/ भाद्र १७, सल्यान- सल्यानको शारदा नदीमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन भइ रहेको छ । मनपरी ढंगले नदीमा बालुवा, गिट्टी, बालुवा उत्खनन गर्दा जिल्लाको प्राकृत्तिक सम्पदाको रुपमा चिनिने शारदा नदी लगायत अन्य स्थानीय खोला जोखिममा परेका छन ।

पक्की भवन, पुल, पर्खाल तथा बिकास निर्माणको काम बढेसंगै जिल्लाका बिभिन्न खोलाहरु दोहन हुन थालेका छन् । बालुवा, ढुंगा तान्दा खोलाको गहिराई बढदै गएको छ । गहिराई बढदै गएकाले शारदा, बन्गाड, त्रिवेणी लगायतका खोला आसपासका खेती योग्य जग्गामा सिँचाईको समस्या देखिएको स्थानीयले गुनासो गरेका छन् ।

ठेकेदार कम्पनी लगायत आसपासका स्थानीयले आफनो जग्गाको नाममा खोला दोहन गर्दा शारदा खोला जोखिममा परेको खोला आसपास नजिकै बस्ती भएकाहरुले बताए। असार, साउन र भदौमा खोलाबाट बालुवा गिटी निकाल्न नपाईने भएपनि खोलाको भेलले बालुवा बढि बगाई ल्याउने भन्दै आयआर्जनको बहानामा मनपरी खोलाबाट बालुवा गिटी निकाल्दै आएको त्रिवेणी गाउँपालिकाका स्थानीय पुर्णबहादुर ओलीले बताए ।

व्यक्तिको जग्गाबाट बालुवा निकाल्ने भन्दै असार,साउनमा पनि खोलाको बिचबिचमा गएर बालुवा मनपरी उत्खनन गरेर बिक्रि गर्दै आएको उनको भनाइ छ । बिगतमा तत्कालिन जिल्ला विकास समितिले स्थानीय आयस्रोत भन्दै ठेक्का दिएर खोलाको गिटी बालुवा निकासी गर्दै आएको र स्थानीय तहका जनप्रतिनिधिले आफन्तलाई जिम्मा लगाएकाले झनै मनपरी गिटी बालुवा निकाल्ने क्रम बढदै गएको उनको भनाइ छ ।

व्यक्तिका नामका भन्दै बगर र खोलाको बिचैबाट डोजर प्रयोग गरि दोहन गर्दा प्राकृत्तिक सम्पदाको रुपमा चिनिने खोला मासिने खतरा बढदै गएको र यसले खेतीपातीमा ठुलो असर पर्न थालेको स्थानीय गिता खड्काले बताइन् । उनले यसरी जथाभावी ढंगले खोला दोहन हुँदा कृषकलाइ प्रत्यक्ष असर भोग्नु परेको बताइन् । प्राकत्तिक सम्पदाको रुपमा रहेको शारदा खोला संरक्षणको बिभिन्न संघसस्थाले अभियान थालेपनि प्रभावकारी नभएकाले झनै मनपरी बढेको उनको भनाई छ ।

बालुवा वासिङ उद्योगले सिँचाइ प्रभावित  

त्रिवेणी गाउँपालिकाको ढुंगेबगरको पिमखोलामा बालुवा वासिङ उद्योग संचालन गर्दा  कृषिकलाइ खेतीपाती गर्न कठिनाइ भएको स्थानीयले बताएका छन् ।खोलाको पानी मुहानबाटै उद्योग तिर लगेकाले बालीनाली लगाउन कठिनाई भएको र खोला बढि जोखिममा परेको स्थानीय गीता खडकाले बताईन । बर्षातको समयमापनि १३ रोपनी खेतमा रोपाई गर्न समस्या भएको  उनले जानकारी दिइन् ।

शारदा खोलाको ढुंगा, बालुवा, गिट्टी बिक्रि गर्ने कार्य नरोकिदा खोला मात्र नभई खेतहरु पाखो बारीमा परिनत हुन थालेको र धान लगाउने खेतमा मकै लगाउन बाध्य हुदै आएको भन्दै यहाँका स्थानीयले साउन २८ गते जिल्ला प्रशासन कार्यालय सल्यानमा ज्ञापनपत्र बुझाएका थिए ।

गिट्टी, बालुवा मात्र नभई खोला च्याप्दै खेत बनाउने कार्य समेत बढदै गएकाले खोलाको चौडाई घटेको उनीहरुको दाबी छ । केही स्थानीयले भने शारदा खोलाको बिचबाट बालुवा ननिकालेको बताएका छन् । खोलाले बगरमा परिणत गरेको  आफनै खेतबाट बालुवा गिट्टी निकालेर बिक्रि गर्दै आएको रिखे बगरका केही स्थानीयले बताएका छन ।

यता बगेस्वरी एग्रिगेट उद्योग संचालन गर्दै आएका कमानसिं डाँगीले शारदा नजिकैका व्यक्तिको बगरबाट गिटी, बालुवा किनेर ल्याई धुलाउदै आएको बताएका छन । उद्योग संचालन गर्न सबै प्रक्रिया पुर्याएको भन्दै केही ब्यक्तिले आरोप मात्र लगाएको जनाएका छन ।

यसरी शारदा नदी दोहन भइ रहँदा स्थानीय सरकारले भने कुनै चासो देखाएको छैन् । सम्बन्धित स्थानीय तहबाट स्वीकृती लिएपछि मात्रै बर्सातको समय बाहेकमात्रै खोलाबाट गिट्टी बालुवा संकलन गर्नु पर्छ तर यहाँ भने मनपरि भएको छ । सम्बन्धित कुनै पनि गाउँपालिका वा नगरपालिकाले वर्षातको समयमा खोलाबाट गिट्टी बालुवा संकलन गर्ने अनुमति नदिएको जनाएका छन् ।

शारदा नगरपालिकाका प्रमुख मेयर शुरेस अधिकारीले आप्mनो पालिकाभित्र पर्ने शारदा नदीबाट यसरी बालुवा गिट्टी निकासा गरि रहेको खबर आफुकहाँ नआएको र यदि यसो भएको खण्डमा आप्mनो ध्यानाकर्षण भएको जनाए । उनले नदीबाट अवैध रुपमा बालुवा गिट्टी निकासा गर्नेलाइ तत्काल काम रोक्न लगाउने बताए ।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त डाँगीले असार, साउन र भदौमा उत्खनन गर्न नपाईने नियममा भएपनि बालुवा गिट्टी उत्खनन भइ रहेकोभए यस कार्यलाइ रोक्नुपर्ने बताए ।उनले खोलालाई दोहनबाट बचाउन यो बर्षदेखि त्रिवेणी गाउँपालिकाले टेन्डर आहवान गरेको जानकारी गराए । जथाभाबी खोलाबाट गिटि बालुवा उत्खनन गरेको पाएमा कारबाही गर्ने उनको भनाइ छ ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले स्थानीय स्रोतका लागि टेन्डरको आहवान गर्ने बताए । गत दुई बर्षको अवधिमा कार्यालयले तोकेको व्यक्तिलाई गिटी बालुवा निकाल्न जिम्मेवारी दिएपनि अब आउदा दिनमा वातावरणलाई असर नपर्ने गरी उत्खनन गर्ने उनले जानकारी गराए ।

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार