• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

टेकु अस्पतालका ३ जना डाक्टरलाई डेंगुको संक्रमण


भाद्र १७, काठमाण्डौं । टेकुका अस्पतालका तीन जना डाक्टरलाई डेंगुको संक्रमण भएको छ । अस्पतालका वरिष्ठ फिजिसियनसहित तीन जना डाक्टरमा डेंगुको संक्रमण पुष्टि भएको अस्पतालका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले जानकारी दिए । अरु ८ जना कर्मचारी पनि बिरामी परेका छन् ।

‘बिरामीको जाँच गर्दागर्दै डाक्टरलाई पनि डेंगुको संक्रमण देखिएको छ’, ‘उनले भने, ‘अरु ८ जना अस्पतालकै कर्मचारी पनि बिरामी छन् । डाक्टरसहित ११ जनाको उपचार भइरहेको छ ।’

डेंगुको संक्रमण हुनेमा डाक्टरसहित कार्यालय सहयोगी, स्वीपरलगायतका कर्मचारी छन् । पछिल्लो समय चाप बढेपछि बिरामीको उपचारमा खटिएका डाक्टरलाई समेत डेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख खतिवडाको भनाइ छ । बिरामी डाक्टर र कर्मचारीको नाम भने खुलाइएको छैन ।

मंगलबार मात्रै टेकु अस्पतालमा ५ सय ९ जनाले डेंगुको परीक्षण गरेका छन । पछिल्लो समय काठमाण्डौ उपत्यकामा डेंगुको संक्रमण बढेसँगै बिरामी जाँचका लागि टेकु अस्पताल पुग्ने गरेका छन् । मंगलबार जाँच गराएको रिर्पोट बुधबार आएपछि बिरामीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अस्पतालमा अहिले २४ जनाको उपचार भइरहेको छ । ९० जना बिरामी उपचारपछि घर फर्किएका छन् ।

अस्पतालले १ हजार ५ सय ४ जनाको रगत परीक्षण गरे पनि एक सय बढीमा डेंगु पुष्टि भएको छ । डेंगुका कारण मोरङ, सुनसरी र चितवनमा गरी ३ जनाको ज्यान गइसकेको छ भने ४ हजार बढी बिरामी छन् ।

एकैदिन ५ सय जनासम्म बिरामी अस्पताल पुगेपछि ‘डेंगु हेल्प डेस्क’ स्थापना गरिएको छ । टाउको दुख्ने, उच्च स्वरो आउने, शरीरमा बिमिरा देखिने, हातखुट्टा गह्रौँ हुने, खान मन नलाग्ने, हिँड्न गाह्रो हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएमा डेंगु हुन सक्ने भएकाले तुरुन्तै जाँच गराउन डाक्टरको सल्लाह छ ।

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार