• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

रवि लामिछानेको मुद्दामा उच्च अदालतले चितवन अदालतसँग माग्यो प्रतिवेदन


 

भाद्र १८, हेटौँडा । पत्रकार शालिकराम पुडासैनी आ’त्म’ह’त्या प्रकरणमा जोडिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलले मंगलबार दिएको निवेदनउपर उच्च अदालत पाटन, हेटौँडा इजलाशले बुधबार चितवन जिल्ला अदालतसँग कैफियत प्रतिवेदन मागेको छ।

आज जारी उच्च अदालत आदेशमा सो आ’त्म’ह’त्याको विषयमा कुनैपनि सञ्चारमाध्यममा प्रकाशन, प्रसारण वा अभिव्यक्ति दिन किन नमिल्ने, विदेश भ्रमण जानु पर्दा अनिवार्य अनुमति किन लिनु पर्ने र मुलुकी फौजदारी संहिता दफा ६८ बमोजिम प्रतिवादी बनाइएका लामिछाने र कँडेलबाट मुद्दा पुर्पक्षका लागि माग गरिएको धरौटी रकमको समेत स्पष्ट कारण र आधारको विषयमा प्रतिवेदन पेश गर्न जिल्ला अदालत चितवनलाई आदेश गरेको छ ।

कार्यक्रम प्रस्तोता लामिछाने र पत्रकार कँडेलले जिल्ला अदालत चितवनले दिएको आदेशविरुद्ध हेटौँडा इजलासमा निवेदन दिएका थिए। उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको  उच्च अदालत हेटौँडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले बताए ।

प्रतिवेदन आएपछि हेटौँडा इजलाशले प्रतिवेदनको आधारमा पुनः सुनुवाई गर्ने रजिष्ट्रार श्रेष्ठको भनाई छ।  धरौटीमा छुटेका लामिछानेले आफूले आ’त्म’ह’त्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध निवदेन दर्ता गराएका थिए।

पुडासैनीलाई आ’त्म’ह’त्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछाने र कँडेललाई जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः पाँच र तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

यो पनिःचितवन अदालतको आदेश विरुद्व रवि लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार