• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

एक महिला: जसले अलपत्र परेका कुकुरहरु घर ल्याएर बेडरुममा राखिन्


भाद्र १८, काठमाडौं । एटलान्टिक महासागरको टापु राष्ट्र हो, बहमास। पर्यटकीय गन्तव्यका रूपमा परिचित बहमासमा आइतबार आएको डोरियान समुद्री आँधीले जनजीवन अस्तव्यस्त बनाइदिएको छ।

आँधीका कारण अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने कयौं मानिस हराइरहेका छन्। घर भत्किएका छन्। बिजुलीका तार चुडिएका छन्।

भारी वर्षाले बाढी आएको छ, डुबान भएको छ। झन्डै चार लाख जनसंख्या भएको बहमासका हजारौं मानिस विस्थापित भएका छन्।

नेपालीका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि डोरियान आँधीका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। उनले बहमासको सरकार र नागरिकलाई सहानुभूति र समवेदना प्रकट गरेका छन्। संसारका अरू देशका राष्ट्र तथा सरकार प्रमुखले पनि आँधीले पुर्‍याएको क्षतिप्रति दु:ख प्रकट गरेका छन्।

यस्तो दु:खमा धेरैको ध्यान आफू जोगिन र परिवार, आफन्तलाई जोगाउनमा हुन्छ। तर बहमासकी एक जना महिलाले भने आँधीपछि अलपत्र परेका कुकुरलाई आफ्नो घर ल्याएकी छन्।

सेला फिलिप्सले अहिले झन्डै १०० वटा कुकुरलाई आफ्नो घरमा राखेकी छन्। आँधीपछि मालिकले छोडेका र सडकमा अलपत्र परेका कुकुरलाई फिलिप्सले घर ल्याएकी हुन्। फिलिप्सले ७९ कुकुरलाई आफ्नो मास्टर बेडरुममा राखेकी छन्। तीमध्ये कति कुकुर बिरामी छन्, कोही घाइते।

‘जताततै दिशा पिसाब गरिरहेका छन्, धन्न मेरो ओछ्यानमा चढ्ने हिम्मत कसैले गरेको छैन,’ फिलिप्सले फेसबुकमा लेखेकी छन्। उनको उक्त पोस्ट अहिले भाइरल भइरहेको छ। विभिन्न व्यक्तिहरूले उनलाई सहयोग पनि पठाइरहेका छन्।

राजधानी नासाउमा आवाजविहीन कुकुर भन्ने संस्था चलाइरहेकी फिलिप्सले घरमा राखिएका कुकुरका लागि एसी खोलिदिएको र म्युजिक बजाइदिएको पनि उल्लेख गरेकी छन्।
-एजेन्सी

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार