• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा हातपात गरेको भन्दै गाउँपालिका अध्यक्षका छोरा विरुद्व उजुरी


भाद्र १९, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले आह्वान गरेको टेण्डरमा ठेक्का दर्ता गर्न जाँदा आफुमाथी हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेको छ । गाउँपालिकाले यहि भाद्र ३ गते एक सुचना प्रकाशन गरि नदिजन्य पद्धार्थ उत्खनन्को शिलबन्दी बोलपत्र (टेण्डर) आह्वान गरेको र त्यसको लागी दरभाउ पत्र दर्ता गर्न जाँदा आफुमाथी हातपात भएको भन्दै प्रशासनमा उजुरी परेको हो ।

हिजो बुधबार ठेक्का दर्ता गर्न गएका खैरावाङ कन्स्कशन प्रालिका प्रोपराईटर डिल्लीराज खड्काले आफुमाथी हातपात भएको भन्दै उजुरी दिएका हुन् । गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीका छोरा पोखर सिंह डाँगी सहितका व्यक्तीले आफुलाई विहान ११ बजेर ५२ मिनेटमा नियन्त्रणमा लिएको र १२ बजेर २ मिनेटमा छोडेर ठेक्का दर्ता गर्नबाट बन्चित गरेको उनको आरोप छ ।

अध्यक्षका छोरा डाँगी, अनमोल श्रेष्ठ, गाउँ प्रहरीमा रहेका केशव ओली सहित ५० जना जतिले आफुलाई नियन्त्रणमा लिएको उनले बताएका छन् । उनले आफुमाथी भएको हातपातको सार्वजनिक मुद्दा लगाई टेण्डर रद्द गर्न आग्रह गरेका छन् ।

आफ्नो प्रालि सँगै स्वपनिल कन्स्कशन प्रालिको पनि ठेक्का दर्ता गर्न गएको उनले बताएका छन् । आफुले १३ लाख र स्वपनिल कन्स्कशनको १५ लाखको ठेक्का दर्ता गराउन गएको र त्यसको ५/५ प्रतिशत रकम गाउँपलिकाको खातामा जम्मा गरिसकेको उनले लेकाली अनलाइनलाई बताए ।

गाउँपलिकामा दर्ता गर्न नपाएपछि उनले शलबन्दी बोलपत्र लिएर जिल्ला प्रशासनमा निवेदन दिएका हुन् । उनले गाउँपलिका अध्यक्षका छोराले आफुले प्रतिसपर्धा नगरेर सस्तो मुल्यमा ठेक्का लिन खोजेको आरोप लगाएका छन् ।

यता त्रिवेणीका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले आफु कार्यालयमै बसेको तर उनि १२ बजेसम्म ठेक्का दर्ता गर्न नआएको बताएका छन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले कार्यालयको गल्लीको प्रत्येक ठाउँ प्रहरी राखेको र आफुले हातपात गरेको नदेखेको प्रतिकृया दिएका छन् ।

उनले गल्लीमा टेण्डर दर्ता गर्ने बाहेक अरु कसैलाई पनि आउन नदिन भनेर प्रहरीलाई निर्देशन दिएको बताएका छन् । उक्त टेण्डरमा १२ जनाले ठेक्का दर्ता गराएको उनले बताए ।

उता प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले आफुकहाँ निवेदन आएको र त्यस विषयमा छानविन गर्ने बताएका छन् । उनले यदि कोहि दोषि देखिए कानुनी सजाय हुने बताएका छन् ।

यस्तो छ दर्ता गर्न लिएको दरभाउ पत्र

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार