• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

बैंकको नयाँ नियम : एटीएमबाट अब कती रुपैयाँ मात्रै झिक्न मिल्ने ?


भाद्र १९, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट झिक्न मिल्ने रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले नेपाल र भारतबाट एटीएम ह्याक गरी ७ वटा बैंकको ३ करोड रुपैयाँ भन्दा धेरै पैसा लुटेपछि राष्ट्र बैंकले एटीएमबाट झिक्न मिल्ने रकमको सीमा घटाएको हो ।

बिहीबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा न्यूनतम पाँच सय रुपैयाँ र बढीमा २० हजार रुपैयाँ निकाल्न पाइने नियम बनाएको हो । अब एक पटकमा २० हजारभन्दा धेरै पैसा एटीएमबाट झिक्न पाइने छैन् ।

यो सीमालाई बैंकहरुले घटाउन पनि सक्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न मिल्थ्यो ।

केहि दिन अघि चिनियाँ ह्याकरले काठमाडौंमा बैंकका एटीएमबाट पैसा चोरी गरेपछि अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द गरिएका थिए । प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ ।

यो पनि: बैंक चोरी गर्ने गिरोहलाई भेट्न चिनियाँ दूतावास राति पुगेपछि…

नेपाली बैंकको एटीएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ राजदूतावासले चासो व्यक्त गरेको छ। पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकरका गिरोहलाई भेट्न महानगरिय प्रहरी परिसर काठमाडौं पुगेका थिए।

 

‘हामीले ति गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेपछि साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका (फ्रष्ट सेक्रेटरी) फिङसाओलिन आउनु भएको थियो’ प्रहरी स्रोतले नागरिक न्यूजसँग भन्यो। करिब डेढ घण्टा बसेका दुतावासका कर्मचारीहरुले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए। सुवेदीलाई भेटेर फिङसाओलिनले ति गिरोहले आफ्नो देशको बेइज्जत गरेको भन्दै राम्रोसँग अनुसन्धान गरिदिन आग्रह गरेको स्रोतले बतायो।

 

चिनियाँ दूतावासको टोलीले ति गिरोहलाई पनि भेटेका थिए। ‘ति पाँच जनालाई नै भेटेका हुन्’ प्रहरी स्रोतले भन्यो ‘उनीहरुकै भाषामा केहिबेर कुराकानी गरे हामीले बुझेनौं।’ प्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो। त्यस्तै उनीहरुको बयानको आधारमा प्रहरीले सोमबार विमानस्थलबाट अर्का एक चिनियाँ नागरिक सु लुसलीलाई पनि पक्राउ गरेको छ।

 

नविल र प्रभु बैंकको एटीएम पिन नम्बर ह्याक गरेरका थिए। प्रहरीले उनीहरुबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको थियो।

 

तीनजना नेपाली पनि पक्राउ

प्रहरीले ह्याकरहरुलाई पैसा साटिदिने नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन श्रेष्ठ र म्यानेजर रेवती दवाडी तथा डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछानेलाई पक्राउ गरेको छ।  ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँसँग साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

 

उनका अनुसार ठमेलका ती मनी एक्सचेन्जमा उनीहरु ४५ मिनेट बसेका थिए।  प्रहरीले सिसिटिभी फुटेज अनुसन्धानबाट मनी एक्सचेन्जका सञ्चालकहरुलाई पक्राउ गरेको हो।  फरार रहेका दुई चिनियाँ नागरिकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

भारतीय रिजर्भ बैंकको चासो

चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ।  उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो।  केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो।  सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक पक्राउ परेका छन्।

 

भारतीय रिजर्भ बैंकले चासो देखाएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ।  स्रोतका अनुसार भारतमा एटिएम बुथको स्विच ह्याक गर्ने कोही पनि पक्राउ परेको छैन।  ‘भारतमा पनि यस्तै प्रकृतिको एटिएम ह्याक गरेका रहेछन्।  उता पनि अनुसन्धान हुँदैरहेछ भारतीय प्रहरी र रिजर्भ बैंकले चासो राखेका छन्’, स्रोतले भन्यो।  प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको बयान लिने काम मंगलबारमात्रै सुरु हुनेछ।

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार