• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सुरक्षित गर्भपतनको लागी रोल्पामा पास नेपालको गाउँ-गाउँमा कार्यक्रम


भाद्र २०, रोल्पा । रोल्पा नेपालको एक पहाडी जिल्ला हो । यो साविकको राप्ती अञ्चल र हालको प्रदेश नम्बर ५ मा अवस्थित यो जिल्लामा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विकासको लागि महत्त्वपूर्ण भुमिका खेलिरहेका छन् ।

जसमध्ये दिगो विकासका लागि जनसहभागिता नेपाल ‘पास–नेपाल’ एक गैरसरकारी संघ संस्था हो । विभिन्न दार्ती निकाय संग साझेदारी गर्दै खानेपानी, सरसफाइ, स्वास्थ्य जस्ता विभिन्न कार्यक्रमहरु सफलतापूवक संचालनमा ल्याएको ‘पास–नेपाल’ रोल्पाले एक बर्ष पहिले देखि ‘आई पास नेपाल’ सँग साझेदारी गर्दै जिल्लामा सुरक्षित गर्भपतन कार्यक्रम संचालनमा ल्याएको छ ।

विशेषगरी असुरक्षित गर्भपतनको कारणले हुने महिलाको अकाल मृत्यु, अंगभंग हुनबाट बचाउने उदेश्यले सन् १९७३ मा अमेरिकामा दर्ता भइ हाल विश्वका विभिन्न १९ देशहरुमा ‘आइँ पास’ले काम गर्दै आइरहेको छ । ‘आई पास नेपाल’ले अहिले नेपालका विभिन्न १९ वटा जिल्लामा काम गरिरहेको छ ।

प्रत्येक वर्ष नेपालमा १ लाख ८६ हजार महिलाहरुले असुरक्षित गर्भपतन गराइरहेका छन् । यसरी असुरक्षित गर्भपतन गराउने मध्य धेरै जसो अशिक्षित, गरिब, ग्रामिण एवं सेवाको पहुँच नपुगेकाहरु छन् ।

लेकाली अनलाइन सँग कुरा गर्दै पास नेपाल रोल्पाकी कार्यक्रम संयोजक प्रज्ञा ओलीले भनिन्, ‘गर्भपतन सेवा लिनु कुनै अपराध होइन, महिलाहरुको अन्य प्रजनन् स्वास्थ्य समस्या वा बाध्यताको समाधान हो । हरेक महिलाको प्रजनन् अधिकार सुनिश्चित गर्ने र असुरक्षित गर्भपतन बाट मातृ मृत्यु कम गर्ने यो कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।’

आर्थिक वर्ष २०७५/७६ को डाटा हेर्ने हो भने नेपाल सरकारद्वारा सुचिकृत भएका रोल्पा जिल्लाका स्वास्थ्य संस्थाहरुबाट ७ सय ६५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो अन्य वर्षको अनुपातमा धेरै हो ।

‘सुरक्षित गर्भपतन कार्यक्रम अन्तर्गत हामीले अहिले विभिन्न जनचेतनाका कार्यक्रमहरु गरिरहेका छौं, बिद्यार्थीहरु, विभिन्न आमा समुहहरु, युवायुवती नव विवहीत जोडिहरु सँग अभिमुखिकरण कार्यक्रमका साथै प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धि स्थानीय पदाधिकारीहरु सँग अन्तरक्रीया र योजना गोष्ठी कार्यक्रम गर्दै अगाडि बढीरहेका छौं’, उनले भनिन् ।

महिलाले आत्मसम्मानपूवक गुणस्तरीय, सर्बशुलभ तथा पहुँच योग्य सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न सक्ने वातावरणको निर्माण सबैले बेलैमा गरिदिन नितान्त आवश्यक देखिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ भाद्र २० गते शुक्रवार