• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको बाफुखोलाबाट १५ करोड बढीको आलु निकासी


भाद्र २१, सल्यान । सल्यानको बाफुखोलाबाट मात्रै यो सिजनमा १५ करोड बढीको आलु निकासी भएको छ । साविकको बाफुखोला गाविस तथा हालको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाट मात्रै यस सिजनमा १५ करोड बढीको आलु निकासी भएको हो ।

आलुको पकेट क्षेत्रको रूपमा चिनिएको बाफुखोलामा यो वर्ष करिब दुई हजार रोपनीमा आलु खेती भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले जनाएको छ । आलुको पकेट क्षेत्रको रूपमा चिनिएको बाफुखोलाबाट वार्षिक सोही अनुमानमा आलु निकासी हुँदै आइरहेको कार्यालयले जनाएको छ ।

आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक आलु खेतीमा आकर्षित हुँदै आइरहेका छन् । करिब हजार घरधुरी रहेका बाफुखोलाबासीले परम्परागत अन्नबाली छोडेर व्यावसायिक आलु खेती गर्दै आइरहेका छन् । झण्डै ८० प्रतिशत जमिनमा आलु खेती हुँदै आएको छ ।

यो वर्ष गाउँबाटै प्रतिकिलो २५ रुपैयाँका दरले व्यापारीले आलु खरिद गरेको स्थानीयले बताएका छन् । यहाँको आलु दाङ, नेपालगञ्ज, धनगढी, चितवन, पोखरासम्म जाने गर्दछ ।

आलुले रोजगारी दियो

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँमा मजदुरीका लागि जाने किसान अहिले आलुखेतीमा रमाइरहेको स्थानीय कोमल ओलीले बताए । आलु खेतीबाट  किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको उनको भनाइ छ । उनले भने, ‘दुई दशक अघिसम्म मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जानुपथ्यो, अहिले आलुले गाउँमा रोजगारी दिएको छ । यस सिजनमा आलुबाट सात लाख आम्दानी गर्न सफल भएको छु ।’

त्यस्तै बाँफूखोलाका डिल्ली ओलीले गत वर्ष आलु बिक्री गरी ४ लाख रुपैयाँ आम्दानी गरे । यस वर्ष ५० क्विन्टल आलु उत्पादन गरेका उनको कमाइ १० लाख रुपैयाँ पुगेको छ । अर्का किसान वीरसिंह ओलीले गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेको र यो वर्ष ८ लाख रुपैयाँ आम्दानी गरेको बताए ।

कोल्डस्टोर नहुँदा समस्या

बाफुखोलामा ठुलो मात्रामा आलु खेति भएपनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको स्थानीयले बताएका छन् । गाउँमा व्यवस्थित कोल्ड स्टोर नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता यहाँका किसानको छ । घरमा भण्डारण गर्दा कुहिने समस्या भएको पनि किसानको भनाई छ ।

२०६८ मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाँफुखोला आएर हुँदा व्यवस्थित कोल्ड स्टोर बनाउन रकम विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए । तर दशकौँ वर्ष बित्न लाग्दा पनि बन्न सकेको छैन् । यसमा स्थानीय तथा प्रदेश सरकारको पनि खासै ध्यान गएको देखिदैन् ।

पक्की सडक छैन्

बाफुखोला पुग्नको लागी राप्ती राजमार्ग अन्तरगत बोगचौर नगरपालिकाको बरिबोट बाट कच्ची सडक प्रयोग गरेर टाट्के, कोटबारा, पातीहान्न हुँदै पुगिन्छ । यो सडक सशस्त्र जनयुद्वका क्रममा खनिएपनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन् । जसले गर्दा वर्षायाममा गाडी गुड्न कठिन हुने गर्दछ ।

बाफुखोलामा आलुको सिजन वर्षायाममा हुने गर्दछ र गाडी पनि वर्षायामामा गुड्न कठिन हुने गर्दछ । उकालो तथा भिरालो बोटो भएकोले वर्षामा अति कठिन हुने यातायात व्यवसायीहरु बताउछन् ।

खरिबोटबाट करिब १८ किलोमिटरसम्म रहेको यो सडकको कालोपत्रेको लागी गतवर्ष एकिकृत शहरी विकास केन्द्रबाट ४० करोडको बजेट बिनियोजन भएको थियो । डिपीआरमा स्थानीय नेताहरुको लामो विवाद भएर कुरा टुंगिएपनि अहिले प्रकृयामै बताइएको छ । सडक कालोपत्रे भएपछि धेरै सहज हुने स्थानीयहरु बताउछन् ।

त्यस्तै सल्यान र रुकुमको सिमानामा रहेको राप्ती राजमार्ग अन्तरगत खौलाबाट बाफुखोला पुग्नलाई ५ किलोमिटरको सडक छ । तर यो सडक पनि कच्ची भएकोले वर्षामा गाडी गुड्न कठिन् छ ।

यो पनि: टिमुरमा सल्यान नेपालकै धनी जिल्ला, एक सिजनमा ३० करोड आम्दानी

यो पनि: सल्यानमा यो बर्ष खोटोबाट साढे ३ करोड आम्दानी

यो पनि: सल्यान कपुरकोटबाट एक महिनामा साढे ७ करोडको तरकारी निर्यात

यो पनि: सल्यानमा यसवर्ष ३३ करोडको सुन्तला उत्पादन । यी ठाउँमा पुग्छ सल्यानी सुन्तला ?

प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार