• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

भद्रगोल विवाद : जिग्री-पाँडे अदालत जाने


भाद्र २१, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारित हुने चर्चित हास्य टेलिशृंखला भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले मिडिया हबले अन्याय गरेको भन्दै अदालत जाने बताएका छन् ।

करीब चार वर्ष अघि कुमार कट्टेल र अर्जुन घिमिरेको समूहले शुरु गरेको यो हाँस्य टेलिशृंखला हिजोदेखि नयाँ कलाकार सहित मिडिया हबले प्रसारणमा ल्याएको छ । यो नयाँ भाग प्रसारण भएदेखि मिडिया हब र जेपिटी (जिग्री पाँडे टिम) क्रियशनकोे विवाद सतहमा देखिएको छ ।

भद्रगोलको नयाँ कलाकार सहित प्रसारित नयाँ भागमा पुरानै भद्रगोलको निरन्तरता हो भनेर देखाउन खोजिएको छ । यसले पुराना समूह चिढिएका छन् ।

भद्रगोलका कार्यक्रमका अर्का परिकल्पनाकार, लेखक तथा कलाकार जिग्रीले भने, “हामी सर्जकलाई ढाँटेर, छलेर मिडिया हबले भद्रगोल आफ्नो ट्रेडमार्क बनायो । पारिश्रमिक पनि दिएको छैन । हुँदा हुँदा हिजोको नयाँ एपिसोडमा हामीले निर्माण गरेको पुरानो भागको क्लिप समेत राखेछ । त्यसको शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेको रहेछ । यो त ज्यादती नै भयो नि । यो ज्यादतीको विरुद्ध हामी भोलि अदालत जाँदैछौं ।”

उनीहरुले नयाँ भाग निर्माणमा संलग्न सबै विरुद्ध उजुरी गर्ने तयारी गरेको बताएका छन् । परिकल्पनाकार, लेखक तथा कलाकार कुमार कट्टेल (जिग्री) भन्छन्, “यो त नेपाल टेलिभिजनको पनि कमजोरी हाे । कार्यक्रम सेन्सर नगरी प्रसारण गरेको पाइयो त्यसले गर्दा हामी नेपाल टेलिभिजनमा पनि ध्यानाकर्षण पत्र बुझाउने तयारीमा छौं ।”

घिमिरेका अनुसार उनीहरुको सम्झौता अनुसार एक सय ७६ भागको पारिश्रामिक पाएका छैनन् । घिमिरेले भने, “जेपिटी (जिग्री पाँडे टिम) क्रियशन मार्फत भएको पछिल्लो ४३ भागकोे पनि ७ लाख पारिश्रमिक हामीले पाउन बाँकी छ । अब हामी सिर्जना चोरीसँगै बाँकी रहेको हाम्रो पारिश्रमिक पाउनुपर्ने माग सहित अदालत जाँदैछौं ।”

घिमिरेले बताए अनुसार एक भागको ४५ हजार पाउने सम्झौताबाट शुरु भएको र पटक पटक सम्झौता नवीकरण हुँदै प्रति भागको एक लाख पाँच हजार पारिश्रमिक पाउने सम्झौता भएको थियो ।

भद्रगोलको प्रसारित नयाँ भाग युट्युबमा राखिएको छ । उक्त भिडियोमा अधिकांश दर्शकले भद्रगोलका पुरानै कलाकार हेर्न चाहेको र अत्यन्तै खराब रहेका भनेर नकारात्मक प्रतिक्रिया दिएका छन् ।

जिग्री भन्छन्, “दर्शक पनि हाम्रो साथमा हुनुहुन्छ भन्ने लागेको छ ।” गत असार मसान्तदेखि उनीहरु बीचको सम्झौता सकिएको हो ।

मिडिया हबले निर्माण गरिरहेको नयाँ भद्रगोलमा पुरानो भद्रगोलका कुनै पनि कलाकार नरहेको घिमिरेले बताए । उनीहरु जेपिटी क्रियशन मार्फत नयाँ नाम तर उस्तै विषयवस्तु भएको हास्य टेलिशृंखला लिएर असोज दुई गतेदेखि नेपाल टेलिभिजन मार्फत आउने जानकारी दिए ।

हिजो प्रशारित भद्रगोलमा पुराना पात्रहरु जिग्री, पाँडे, बले, कक्रोज, बुवीका बाउ, सिते बा, काकु, जयन्ते, रक्षा, एकदुमे लगाएतका कलाकारहरु समेटिएका छैनन् । नयाँ कलाकारहरुमा भने मङ्गल थाडु, बाहुन डन, सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिनाको अभिनय रहेको छ ।

यो पनिः पाँडे-जिग्रीको ठाउँमा नयाँ कलाकार राखेर आजबाट ‘भद्रगोल’ आउने

यसैबीच केहिदिन अघि यस्तो पुराना कलाकारहरुले आफ्नो फेसबुकमा यस्तो स्टाटस पोष्ट गरेका थिए । 

भद्रगोल रोकिनुको कारण:

भद्रगोललाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आदरणीय नेपाली तथा नेपालिभाषी दाजुभाई,दिदिबहिनी हरुमा सम्मान र नमन व्यक्त गर्दछौं ।

यहाँ सम्मको यात्रामा हामिलाई साथ दिनुहुने मिडिया हब प्रा ।लि ।,नेपाल टेलिभिजन ,सम्पुर्ण मिडिया हाउस,शुभचिन्तक ,बिज्ञापन दाताहरु,प्राबिधिकहरु, संचारकर्मीहरु,सुबास कार्की “बेलासे”सर,शंकर आचार्य “बरिस्टे”दाइ लगाएत सम्पुर्ण हरु प्रती कृतज्ञ छौँ ।

बिगत लामो समय देखि विभिन्न समस्याहरु तथा अबरोध का बिच पनि आफ्नो कर्मप्रती पुर्ण इमान्दार भएर भद्रगोल सिरियल मा काम गरिरहेका थियौं ।भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हब बिचको सम्झौता २०७६ असार मसान्तबाट सकियलगत्तै भद्रगोल लाई निरन्तर सन्चालनमा ल्याउन हामिले विभिन्न चरणमा छलफल र परामर्श हरु गर्यौ।

दुर्भाग्यको कुरो भद्रगोलको नाम,डिजाइन ,लेखन,निर्माण,निर्देशन गर्ने हामी सर्जकहरु संग भद्रगोल नामको अधिकार छैन।एउटा सर्जकले सिर्जना गरेको सम्पुर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामिले निरन्तर पहल गर्यौ तर अधिकार पाउन सकेनौं ।एउटा सर्जकको हिसाबले सिर्जना गर्ने मान्छेलाई सबैभन्दा प्यारो आफ्नो सिर्जनानै हुन्छ होला।

भद्रगोल टेलिसिरियलबाट केही बर्षसम्म पनि पारिश्रमिक समेत नपाउदा पनि हामी भद्रगोलका सबै कलाकार देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भाबले निरन्तर मोटिभेट भैइ कर्म गरिरहेयौ।पारिश्रमिक पाउने निर्णय भैइसकेपछी पनि समयमै पारिश्रमिक नपाउने,पारिश्रमिक उठाउनकै लागि टिलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अबलम्बन गर्दापनी दिगो तरिकाले काम गर्ने बाताबरण देखियन।

हुन त हामी कलाकारको लागि पैसा भन्दापनी कला,दर्शकको माया सबैभन्दा ठुलो कुरा हो तर हामी कलाकारहरू पनि बाच्नुपर्छ ।यहि देशमा बसेर कलाप्रती पुर्ण रुपमा समर्पित भएर काम गरिरहदा आफ्नो भबिस्यप्रतिको चिन्तापनि थपिदै जादो रहेछ।

आजको दिनमा न हामिले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं,न काम गरिरहेकै संस्थासंग काम गर्ने बाताबरण छ।यो अबस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ ?भगवानरुपि दर्शक हरुको अमुल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं ।

प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार