• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

नेपालमै अनौठो बिहे : छोरी माग्न जाँदा दाउराको भारी


भाद्र २२, गोरखा । कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन। आजको अन्नपुर्णमा समाचार छापिएको छ,

उत्तरी गोरखाका गुरुङ समुदायको बसोबास रहेका बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्। दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ। केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्छ। यस्तो प्रथा धार्चे गाउँपालिकाका लापुलगायत सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ।

यसरी गरिएको विवाहमा न लाखौं खर्च, न झन्झट। ‘केटाले आफूलाई मन पर्ने केटीको घरमा दाउराको भारी लगेर राखिदिन्छ’, धार्चे गाउँपालिका-५ यमगाउँका टेकबहादुर गुरुङ भन्छन्, ‘फिर्ता गरेनन् भने केटी विवाह गर्न सहमत भई भनेर केटाले बुझ्छ। अनि बिस्तारबिस्तार केटीको घरमा गएर काममा सघाउन थाल्छ। केटी र उसका अभिभावकको मन जितेपछि विवाह पक्का हुन्छ।’ यसरी विवाह गरेपछि छोराको छेवरमा रीत पुर्‍याउने चलन छ।

छोराछोरी बोकेर बिहे

प्रायः बुबाआमाको बिहे छोराछोरीले हेर्दैनन्। तर उत्तरी गोरखाका गुरुङ समुदायमा सन्तान भइसकेपछि विधिवत् रुपमा विवाह गर्ने चलन छ। छेवर हुनुअघि छोराछोरी बोकेर र दाजुभाइ खलकका आठ, दसजना जन्ती लिएर दुलहीको घरमा जाने चलन छ। त्यहाँ जाँदा दुलहीको बुबाआमा, दाजुभाइ खलकका लागि बोकाको फिला, रक्सी र रोटी लग्ने टेकबहादुर गुरुङ बताउँछन्।

‘ससुरालीमा पुगेपछि सम्धी-सम्धीले दैलामा बसेर अक्षता र पैसा तीन फेरसम्म साटासाट गर्छन्। ढोकामा भाले काटेपछि दुलहा पक्षले घरभित्र प्रवेश पाउँछन्’, गुरुङ भन्छन्, ‘घरभित्र दहीको टीका लगाउने, दुलहालाई सेतो फेटा र दुलहीलाई पछ्यौरा लगाउने काम हुन्छ। मेरो छोरीलाई नुहाइदिन सक्छौं ? मेरो छोरीको जुम्रा हेरिदिन सक्छौं, मेरो छोरीलाई खान लाउन दिन सक्छौं ? भनेर एकतले बाचा, दुईतले बाचा, तीनतले बाचा बाँध्ने काम हुन्छ। सातवटा बत्ती टेक्न लगाएर भूतप्रेत भगाउने काम गरेपछि खानपिन हुन्छ।’

छरछिमेक, गाउँघर निम्ता गर्ने चलन छैन। छिमेकमा विवाह छ भनेपछि स्तस्फूर्त रुपमा इष्टमित्र, छरछिमेक आउँछन्। उनीहरु नाचगान गरेर रमाइलो गर्छन्। भोलिपल्ट दुलहादुलही फर्किने चलन छ।

मामा चेली-फुपू चेलीको हक

अधिकांश समुदायमा मामाकी छोरी वा फुपूकी छोरीलाई दिदीबहिनी मानेर पुज्ने चलन छ। उत्तरी गोरखाका संस्कृतिसम्बन्धी ज्ञाता टेकबहादुर गुरुङ भन्छन्, ‘हाम्रो संस्कारअनुसार मामा चेली वा फुपू चेलीलाई हक लाग्छ। हक लाग्ने अथवा अरू जोकोही केटी मन पर्‍यो भने मगनी गरिदिन केटाले बुबाआमालाई अनुरोध गर्छ। केटाका बुबा र दाजुभाइ खलक रक्सीको ठेकिपोङ लिएर केटीको घरमा मगनीका लागि जान्छन्। केटीका माइती खलकले पोङ स्वीकार गरे भने विवाहको लगन जुराइन्छ।’

विवाह गर्नुअघि वर्ग मिलाउने परम्परा रहेको उनी बताउँछन्। सर्प वर्गसँग गरुड वर्ग मिल्दैन। बाघ वर्गसँग भेँडा, बिरालो तथा बाँदर वर्ग नमिल्ने उनले बताए।गरीबीका कारण केटा पक्षले रीत पुर्‍याउन नसके केटी पक्षले नै दुवै पक्षलाई बोलाएर खुवाउने चलन छ। दाइजो दिने चलन छैन। कसैलाई छोरीलाई केही दिन मन लाग्यो भने चरेसको थाल, तामाको गाग्री, रक्सी पार्ने भाँडासेट (खोकिया) मात्र दिन्छन्।

प्रकाशित मिति : २०७६ भाद्र २२ गते आइतवार