• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

भद्रगोलको पुरानो टिमले अर्को नयाँ टेलिसिरियल ल्याउदै


भाद्र २२, काठमाडौं । मिडिया हबसँगको विवादपछि ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् ।

अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’लगायतका २१ जना कलकारहरू अब पुन: टेलिभिजनको पर्दामा देखिने भएका छन् ।

आइतवार अर्जुन घिमिरेले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘हजुरहरूले हामीप्रति देखाउनुभएको माया, सद्भाव र सहानुभूतिप्रति कृतज्ञ छौं । हामी आउँदै छौं । केही हप्ता प्रतिक्षा गर्नु होला !!’

असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवार उक्त टेलिसिरियल हेर्न पाइने घिमिरेले बताएका छन् । टिम पनि त्यही, थिम पनि त्यहि तर सिरियलको नाम भने फरक हुने बताइएको । अहिले नाम खुलाइएको छैन ।

उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री-पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।

यसैबिच भद्रगोलको नयाँ टिमले बनाएको गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोड कत्तीपनी रुचाएका छैनन् । यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् ।  प्रतिक्रियाहरु पनि अधिकांश नकारात्मक छन् ।

यो पनिः भद्रगोलको नयाँ एपीसोडमा दर्शकको नराम्रो प्रतिकृया, यूट्यूवमा लाइकभन्दा डिस्लाइक धेरै

यो पनिः भद्रगोल विवाद : जिग्री-पाँडे अदालत जाने

यो पनिः पाँडे-जिग्रीको ठाउँमा नयाँ कलाकार राखेर आजबाट ‘भद्रगोल’ आउने

प्रकाशित मिति : २०७६ भाद्र २२ गते आइतवार