• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा प्राविधिक शिक्षा पढ्नको लागी विद्यार्थीको पैसा विद्यालयमा बाजी


भाद्र २२, सल्यान । सल्यानको शारदा नगरपालिका ४ बाट संचालित शहिद नेत्रलाल अभागी प्राविधिक शिक्षालयमा विद्यार्थीहरुले पैसा बाजी राखेर भर्ना भएका छन् । भेटनरी डिप्लोमा ४० र सिभिल इन्जिनियरिङमा ४८ गरी कुल ८८ जनाको कोटा रहेकोमा केहि योग्यता नपुगेका विद्यार्थीको पैसा बाजी राखेर विद्यालयले भर्ना लिएको हो ।

विद्यालयले केहिदिन अघि लिएको इन्ट्रान्स परिक्षामा एक सय ७ जनाले फारम भरेका थिए । जसमा ८८ जनाले नाम निकालेर भर्ना भए । ति मध्ये करिब १० जना एसईईमा ग्रेड कम आएर योग्यता नपुगेका छन् । उनिहरुले ग्रेड वृद्धिको लागी पुरक परिक्षा पनि दिएका छन् तर प्राविधिक शिक्षालयमा शुल्क तिरेर भर्ना पनि भएका छन् ।

यसरी एसईई पुरकको नतिजा नआउदै विद्यालयले प्रति विद्यार्थी ३४ हजारका दरले भर्ना लिएको छ । यदि अब उनिहरु एसईईको पुरकमा पास भएनन् भने पढ्न पाउने छैनन् र उक्त रकम विद्यालयले जफत गर्ने कागजी सहमती भएको श्रोतले जनाएको छ ।

सो प्राविधिक शिक्षायलका संचालक इन्द्र शर्माले विद्यार्थीले आफुखुसी नै कागज गरेको स्वीकार गरेका छन् । ‘योग्यता नपुगेका विद्यार्थी भर्ना हुन पाउछन् र ?’ भन्ने लेकाली अनलाइनको प्रश्नमा उनले भने, ‘उहाँहरुले हामी सटिफिकेट पेश गर्छौ भनेर भर्ना हुनु भएको छ, हामीले त्यसरी भर्ना लिन पाउछौँ । एसईईको पुरकमा उतिर्ण भएर सटिफिकेट ल्याउनु भयो भने पढ्न पाउनु हुन्छ । तर पास नभए सटिफिकेट ल्याउन सक्नुभएन भने पढ्न पाउनु हुँदैन् ।’

उक्त भर्ना शुल्कको २९ हजार रकम सिटिभीटीमा लाग्ने र ५ हजार धरौटी भएको भन्दै उनले ५ हजार फिर्ता हुने तर २९ हजार फिर्ता नहुँने बताए ।

ती एसईई पुरक विद्यार्थी पास भएमा पढ्ने र फेल भएमा कोटा पुर्याउनको लागी अन्य वैकल्पीकमा रहेकालाई छनोट गरेर भर्ना गर्ने उनको भनाई छ । यहाँ ३ वर्षीय कोर्षका यी विषय पुरा कोर्ष पढ्न कुल ८० हजार तिर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २२ गते आइतवार