• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दशैं-तिहारको अवसरमा यी सामग्रीमा यति रकम छुट दिइयो


भाद्र २३, काठमाडौं । अघिल्ला वर्षहरूजस्तै सरकारी संस्थाहरूले चाडपर्वको अवसरमा केही वस्तुको खरिदमा छुट दिने भएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालन गर्दै आएको सुपथ पसल काठमाडौं उपत्यका र उपत्यकाबाहिरका विभिन्न शहरमा सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित निजी व्यवसायीले पनि छुट दिने गरी सोमबारदेखि पसल सञ्चालन हुन लागेको हो। गत साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित बसेको बैठकले कुन सामानमा कति छुट दिने भन्ने निर्णय लिएको थियो।

सरकारी तवरबाट मात्रै नभइ निजी क्षेत्रलाई पनि सक्दो छुट दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ।  सरकारले सीमित सामग्रीहरूमा छुट दिएको छ।

सामान बेच्ने सरकारी स्वामित्वका तीन संस्थानले छुट दिने भए पनि नेपाल आयल निगमलगायतका निकायले भने अहिलेसम्म छुटका योजना अघि सारेका छैनन्।  कुन सामानमा कति छुट उपत्यकासहित देशका विभिन्न शहरमा गरी ७० ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछन्।

सुपथ मुल्यका पसलहरुमा निम्नअनुसारको छुट व्यवस्था गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।  प्रतिकेजी नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ,  चामल मोटामा ५ रुपैयाँ, मसिना चामलमा १० रुपैयाँ, घ्यूमा  ५० रुपैयाँ, पनिरमा  १० रुपैयाँ,  खसीबोकाको मासुमा १० रुपैयाँ छुट दिइएको छ ।

सुपथ मूल्य पसलमा गेडागुडी, तरकारी, फलफूल चिउरालगायत आवश्यक खाद्यान्न वस्तुमा सार्वजनिक संस्थानका तर्फबाट मुनाफा घटाएर बिक्री वितरण गरिने जनाइएको छ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार