• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान बालविवाह प्रकरण : बिहे गर्ने उमेर पुग्यो तर नागरिकतामा उमेर घटाउदा कानुनले समायो


मिना बुढाथोकी/ भाद्र २४, सल्यान । सल्यानको शारदा नगरपालिका–४ पिपलनेटाका रमन बस्नेत (नाम परिवर्तित) । उमेरले २१ वर्षमा प्रवेश गरेका उनि नागरिकता अनुसार भने हाल १७ वर्षमा लागेका छन् । सानैदेखी भलिबल खेलमा रुची राख्ने गरेका उनले अन्डर १६ को प्रतियोगितामा भाग लिनका लागी नागरिकतामा उमेर घटाएको बताए ।

उनले जिल्ला स्तरीय खेलमा भाग लिनुका साथै एनसीसी राष्टीय सेवादलबाट सल्यानको प्रतिनिधित्व गर्दै कोहलपुरसम्म गेम खेल्न पुगेको बताए । उनले अहिले कक्षा १२ मा अध्ययन गर्दै छन् ।

शारदा नगरपालिका–४ साहुटोलकी २० वर्षीया सन्जु न्यौपाने । हाल कक्षा १२ मा अध्यनरत अन्जली (नाम परिवर्तित)ले पनि स्कुलमा पढ्दै गर्दा सर्टीफिकेटमा उमेर घटाएका कारण नागरिकता अनुसार अहिले १८ वर्षकी भएको बताइन् ।

दुबैजनाले नजिकैको माविमा कक्षा ६ देखी संगै एउटै कक्षामा पढ्न शुरु गरे । संगै पढ्दै गर्दा दुबैले एकअर्कालाइ मन पराउन थाले र उनिहरुबिच प्रेम सम्बन्ध शुरु भयो । जतिबेला रमन १५ वर्षका थिए भने अन्जली १४ वर्षकी थिइन् । करिब ६ वर्षको प्रेम सम्बन्ध पछि दुबैजनाले ०७६ असार २६ गते विवाह गर्ने निर्णय गरे ।

वास्तविक उमेर पुगी सकेको तर नागरिकतामा भने उमेर नपुगेका कारण बाल विवाह अन्तरगत उनिहरुलाई प्रहरीले पक्राउ गर्यो । विवाहको शुरुवात भइ रहेका दिन स्थानीयले प्रहरीलाइ खबर गरेपछि सो स्थानमा विवाहको तयारी गरि रहेका चार जनालाई प्रहरीले पक्राउ गर्यो ।

प्रहरीले नागरिकता अनुसार १८ वर्षीया बेहुली अन्जलीे, नागरिकता अनुसार १७ वर्ष पुगेका बेहुला, ६५ वर्षीया बेहुलाकी आमा र विवाह गराउन आएका ६६ वर्षीय अशोक गौतमलाई बाल विवाह गर्ने र गराउने घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेको थियोे ।

उमेर पुगेपनि कानुनी रुपमा अपराध गरेका रहेछौं 

रमनले बिहे गर्नु भन्दा अघि जेठ महिनादेखी घरमै फेन्सी स्टोर संचालनमा ल्याएको बताए । उनले भने, ‘हामी विगत ६ वर्षदेखी प्रेम सम्बन्धमा थियौं, घरपरिवारलाइ पनि थाहा भई सकेको थियो । अब उमेर पनि पुग्यो बिहे गरम भन्ने सोच आएपछि फेन्सी स्टोर संचालनमा ल्याएका हौं ।’ आफु गेममा व्यस्त हुने र सन्जुलाइ सहज होस भनेर फेन्सी स्टोर संचालनमा ल्याएको उनले बताए ।

यति लामो समय सम्म प्रेम सम्बन्ध हुँदा यस अघि विवाहको सोच आएन भन्ने प्रश्नको जवाफमा उनले भने, ‘विद्यालयमा बाल विवाह न्युनिकरण सम्बन्धी कार्यक्रमहरु संचालन हुन्थे, हामीपनि सहभागी हुन्थ्यौं, कम उमेरमा विवाह गर्नु हुँदैन भन्ने हामीलाइ थाहा थियो त्यसैले उमेर पुगेरै विवाह गरौंला भनेको त कानुनी रुपमा अपराध गरेका रहेछौं ।’

‘हामीले अब उमेर पनि पुग्यो, सबै कुरामा परिपक्व पनि भइ सकेका छौं भनेर नै विवाहको निर्णयमा पुगेका थियौं’ उनले भने । तर नागरिकतामा उमेर घटाएको कुरा केही आफन्तलाइ मात्रै थाहा भएको र आफन्तलेनै प्रहरीलाइ फोन गरेर बोलाएपछि विवाह रोकिएको उनले बताए ।

बालविवाह गरेको कसुरमा जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबाना

बालविवाह गरेको र बाल विवाहमा संलग्न रहेको कसुरमा जिल्ला अदालत, सल्यानले भदौ १८ गते बेहुली अन्जली, बेहुलाकी आमा र ब्राह्मण अशोक गौतमलाई जनही दुई महिना कैद र दुइ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । बेहुलालाई भने उमेर नपुगेको नाबालक रहेको भन्दै अदालतले सफाई दियो ।

यद्यपी एक हप्ता हिरासतमा बसेपछि सबै जान धरौटीमा छुटेको र दुइ महिना कैद अन्तरगत प्रति दिन तीन सयका दरले कट्टीहुने गरि ५३ हजार सात सय बुझाएपछि अहिले कसैलाइ पनि कागारमा बस्नु परेको छैन् ।

पक्राउ पछिको एक साताको हिरासतमा बसेको अनुभव सुनाउँदै रमनले भने, ‘मलाइ त उमेर पुग्दैन भनेर जेलबस्न नपर्ने कुरा थाहा पाएँ तर आमा र प्रेमिकालाई के हुने होला भनेर मन खिन्न हुन्थ्यो । सोच्थें गल्ती मैले गरें आमाले बिनाकारण सजा भोग्नु पर्ने भयो । अनि सयौं जुनि संगै मर्ने संगै जिउने भनेर रोजेको जिवनसाथी उस्को के गल्ती थियो र ? बरु सजाय मलाइ मात्रै भए हुन्थो ।’

पछि अदालतको फैसलाले भने मन शान्त भएको उनले बताए । ‘अब भने नागरिकता अनुसार उमेर पुगेपछि मात्रै बिहे गछौं उनले भने, त्यतीन्जेल सम्म अन्जलीले पसल हेर्छिन मैले गेमलाई निरन्तरता दिन्छु ।’

यता बेहुली अन्जलीले पनि आफ्नो लामो समयसम्मको प्रेम सम्बन्धमा यस्तो कठिन परिस्थिति आइपर्ला भनेर कल्पना पनि नगरेको बताइन् । ‘सबै केटीको सपना हुन्छ, एउटा राम्रो, आफुलाइ बुझ्ने केटा संग बिहे होस भनेर । रमन जस्तो बुझ्ने मान्छे मेरो जिवनसाथी बन्न योग्य छ भनेर नै मैले बिहे गर्ने निधो गरेको हो ।’ ,उनले भनिन्, ‘तर प्रमाणले उमेर नपुगेको देखाएपछि सजाए भोग्नु पर्यो ।’

बाल विवाह न्युनिकरण अभियानमा जुट्छौं 

अनेकौं सपना बोकेर कान्छो छोराको बिहे गर्ने तयारी गरेकी बेहुलाकी आमा भन्छिन, ‘नजानेर यस्तो घटनामा परियो । छोराको उमेर पुग्यो भनेर बिहे गर्ने भनेर सबै तैयारी गरेका थियौं । बिहे गर्नु अघि गणेश पुजा अनि व्रतबन्ध पछि जग्गे गर्ने कुरा थियो । छोराले जनै हाल्न नपाउँदै प्रहरी आएर लग्यो ।’

प्रहरीलाइ खबर गर्ने मान्छेले आएर हामीलाइ उमेर पुगेको छैन् ,बिहे नगर्नुस भनेर भनेको भए हामी गर्दैनथ्यौं होला उनले थपिन, ‘छोराको बिहे गर्ने सुरु हुनै लाग्दा जग्गेबाट सबैलाइ प्रहरीले लगेर जाँदा मरे सरह भयो । अहिले सम्म समाजमा कसैसंग नराम्रो सम्बन्ध थिएन् खै के आइ लाग्यो ।’

‘अब त आफ्नो इस्टमित्र, नातीनातिनी कसै लाइपनि उमेर नपुगी बिहे नगर भन्छु । अबका कसैले यस्तो भोग्नु नपरोस्’, उनले भनिन् । यस्तै बेहुला रमनले पनि साथीहरु मिलेर गेमका लागी वडास्तरीय क्लब गठन गर्न लागेको बताउँदै अब सोही क्लबबाट बाल विवाह न्युनिकरणको अभियानपनि चलाउने बताए ।

हामीले जान्दा जान्दै पनि गल्ती गर्यो । प्रमाणमा उमेर नपुग्दा बिहेनै रोकियो । समाजमा यस्ता घटनाहरु धेरै छन जस्लाइ न्युनिकरण गर्न आवश्यक रहेको उनले बताए । उनले बाल विवाह गर्न लागेको थाहा पाएपछि अभिभावकलाइ सम्झाउने काम क्लब बाट गर्ने जानकारी दिए ।

अपर्याप्त न्युनिकरण

जिल्लामा यस्ता बाल विवाहका घटना धेरै छन् । तर आधिकारिक रुपमा न्युनिकरणका उपायका लागी कसैले पनि ठोस योजना बनाएको देखिंदैन् ।समुदाय स्तरमा अभिभावक र विद्यालयमा किशोरकिशोरीसंग यस विषयमा अन्तरक्रिया गर्ने र जनचेतना मुलक विभिन्न कार्यक्रमहरु गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

जिल्लाको दार्मा गाउँपालिका र बागचौर नगरपालिकाले बाल विवाह न्यूनीकरण गर्नका लागि केही प्रयास गरेको भएपनि यहाँका अन्य स्थानीय तहले भने बाल विवाह न्यूनीकरणका लागि बनाएका योजना प्रभावकारी बन्न सकेका छैनन् ।

बाल विवाह न्युनिकरण गर्नका लागी भइ रहेका बाल विवाहलाइ रोक्ने खालका कार्यक्रमहरू ल्याउनु पर्ने अधिकारकर्मीको भनाइ छ । स्थानीय सरकारले बालबालिकाका लागि स्पष्ट नीति बनाउने र यस्ता घटनामा संलग्नलाई कानुनको दायरासम्म पु¥याउन सकेमात्र यस्ता घटना न्यूनीकरण गर्न सकिने मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले बताए ।

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने चेतनाको कमी र सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकी लगायतका कारणले पनि बाल विवाह हुने गरेको स्थानीयको भनाइ छ ।

यो पनिः सल्यानमा दुलहा-दुलही सहित ४ जना विवाहमण्डपबाटै पक्राउ

यो पनिः सल्यानमा बाल विवाह गर्न लागेकालाई बाल क्लबले रोक्यो

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार