• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

पत्रकार ओम हमाल १८ दिनपछि रिहा


भाद्र २४, काठमाडौं । पत्रकार ओम हमाल रिहा भएका छन्। जनपत्रकार संगठन नेपालका केन्द्रीय तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल १८ दिनपछि भएका हुन् । सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा हमाल आज मंगलबार रिहा भएका हुन् ।

पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य समेत रहेकी श्रीमती मोनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् । रिटमाथी सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको ईजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको हो ।

गत भदौ ६ गते पोखराबाट पक्राउ परेका हमाललाई गत भाद्र १७ गते सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि गेटबाटै प्रहरीले पुनः पक्राउ गरेको थियो । अघिल्लो पटक राज्य विरूद्वको कसुरको मुद्दा लगाएको प्रहरीले दोस्रो पटक दुरव्यवहार सम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियो ।

पत्रकार हमालको रिहाइको लागि देशभरका पत्रकार सम्बद्ध संघ संगठनहरुले दबाब दिदै आएका थिए भने जनपत्रकार संगठन नेपालका केन्द्रीय पदाधिकारीहरु हमालको गैरकानुनी गिरफ्तारीको विरुद्ध नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघ संगठनहरु संग भेटघाट एवम् छलफल गरी विचार तथा आस्थाका आधारमा गिरफ्तार पत्रकारहरुको पक्षमा दबाब दिन अनुरोध गर्दै आईरहेका थिए ।

रिहा भएका पत्रकार हमाललाई नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहाल, जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, संगठनका केन्द्रीय महासचिव हिम विष्ट लगाएतका पत्रकारहरुले स्वागत गरेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार