• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

चितवनबाट विप्लवका छोरा प्रकाश सहित १५ जना पक्राउ, प्रहरी र विद्यार्थीबीच झडप


भाद्र २५, चितवन । सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए । अहिले प्रकाश सहित पक्राउ  परेका अरुलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ ।

यसैबिच उक्त अस्पतालमा अध्यान गर्ने आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेट्न खोजेपछि झडप भएको बताइएको छ ।

उनीहरुलाई प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा केही विद्यार्थीहरु घाइतेसमेत भएका छन् । विद्यार्थीहरुले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

आन्दोलन विप्लवका छोरा प्रकाशको अगुवाइमा हुँदै आएको छ । चितवन मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको भन्दै विगत दुई सातादेखि उनिहरु आन्दोलनमा थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार