• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

भविष्य हेर्छु एकातिर, तिमीलाई हेर्छु अर्कोतिर


कविता: तिमी अनि म

भविष्य हेर्छु एकातिर
तिमीलाई अर्कोतिर

तिमी छैनौ जस्तो लाग्छ मेराे भविष्य भित्र
न मेरो नै भविष्य भेट्टाउछु तिमी भित्र
किनकि तिमी,

आफै थिचिएका छौ सम्पन्नताको अहमले
र मैले सक्दिन खरिद गर्न
मेरा अभावका रत्नहरु तिम्रो धनले

च्यापिएका छौ तिमी
घमण्डका चट्टानहरुले
जहाँ टुटेका छन मेरा सपनाहरु
र भै दिएकाछन तहसनहस

र तिमीलाई सिकाउन सकेन कहिल्यै
यो समाजले सद्भावका श्लोकहरु
सम्मानका उक्तीहरु

जहाँ हामी नारीका ईज्जतहरु छन,
सकेनौ बजाउन
जसको सम्मानमा समर्थका थपडिहरु

शोषनका पीडा बाट गुज्रीरहेका
आमा र दिदिहरुलाई लाई स्वतन्त्रताको बाटो
कहिल्यै दिन सकेनौ
शिर उठाएर बाँच्न
मजबुत भएर उभिन

सधैँ -सधै लगाउन चाहन्छौ
स्वतन्त्रता खोज्ने खुट्टाहरुमा लगाम
बाँध्न खोज्छौ सिमित घेराभित्र

तर अब
तिमी पनि होसियार हुनु
नबिर्सनु आफ्नो पैतालाको धरातल
सन्तुलनमा राख्नु वचनहरु

तिम्रा अस्लिलताका कुरुप बोलीमा
मलाई सुरक्षित पाउन सकिन मैले

सधैँ राख्न खोज्छौ
शंकाको जालो भित्र

मैले पनि जानेकी छु राख्न सम्बन्धको दुरी
तिम्रो शंकामा पनि कुनै झल्को छैन मायाको
सट्टामा निल्नु परेको छ
अपमान र बद्नामीको तितो रस

अब तिमीले पनि बुझ्नु पर्छ
शंका र प्रेमको परिभाषित अर्थ
समर्पन र सच्चाईको अर्थ
साथ र सहयोगको चरम बिन्दु

प्रिय,
प्रिय आउ
तिमी र म हिडौँ बरु

चिर्दै यो समयको कुरुप जालो
भत्काउदै असमझताकाे पर्खाल
जसले तिमीलाई र मलाई कहिल्यै
देख्न चाहेन सङ्गै।

प्रकाशित मिति २०७६ भाद्र २६ गते 

प्रकाशित मिति : २०७६ भाद्र २६ गते बिहिवार