• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको बागचौर नगरपालिका स्थित हिलाम्य सडकमा ट्रक भासिदा यातायात अवरुद्ध


भाद्र २७, सल्यान । सल्यानको बागचौर नगरपालिका अन्तरगत पर्ने थारमारे–चौरजहारी सडकमा ट्रक भासिदा यातायात अवरुद्ध भएका छन् । बागचौर नगरपालिकाको पुतलिबास नजिकै दोबाटो भन्ने स्थानमा हिजो बिहीबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म नखुलेको यात्रुहरुले बताएका छन् ।

“सडक हिलाम्य भएको कारण उकालोमा ट्रक गाभिएको छ, धेरै प्रयास गर्दा पनि निकाल्न सकिएन ।”, एक गाडी चालकले लेकाली अनलाइनलाई बताए । ट्रक उक्त स्थानबाट अगाडी वा पछाडी चल्न नसकेर अन्य गाडीहरु पनि त्यही रोकिएको ती यात्रुले बताए ।

अहिले सो सडकमा चौरजहारी सडकबाट आएका करिब आधा दर्जन र थारमारेबाट गएका आधा दर्जन गाडी बिच सडकमै रोकिएका छन् । सडक खुलाउन नगरपालिकामा फोन गरेपनि केहि वास्था नभएको गाडी चालकहरुले बताएका छन् ।

यता बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले आफुलाई कतैबाट सडक अवरुद्ध भएको खबर नआएको बताए । उनले भने, ‘यत्रो सडक अवरुद्ध हुँदा कम्तीमा हामीलाई खबर त आउनु पर्छ नी ? कि त प्रहरीलाई फोन गरेर जानकारी गराएको भए पनि हुन्थ्यो नी ?” अब सडक खुलाउनको लागी डोजर पठाउने नगरप्रमुख बुढाथोकीले बताए ।

इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी प्रमुख लिलाभक्त बादेले पनि सडक जाम भएको कुनै खबर नआएको बताएका छन् । उनले आगामी दिनमा यस्तो खालको समस्या हुन बित्तीकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे ।

गतवर्ष मात्रै यो सडकलाई ग्रामीण राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत ८ करोड ४४ लाख रुपैयाँ खर्चिएर ग्राभेल गरिएको थियो । तर ग्राभेल एक वर्षमै भत्किएपछि अहिले हिलोपत्रे जस्तै भएको छ । सडक हिलाम्य भएपछि यात्रुले आवतजावतमा सास्ती भोग्नुपरेको छ ।

यो पनिः सल्यानमा ग्राभेल गरिएको सडक हिलोपत्रे बन्यो, साढे ८ करोड बजेट स्वाहा (भिडियो सहित)

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार