• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानको जलेखर्कमा पहिरोले सडक बगायो


भाद्र २८, सल्यान । सल्यानको दार्मा गाउँपालिका ५, जलेखर्कमा पहिरोले सडक पुरेपछि यातायात सेवा अवरुद्ध भएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा करिब ५० मिटर सडक पुरिएको हो ।

पहिरोका कारण राप्ती लोकमार्गसमेत जोखिममा परेको प्रहरीले जनाएको छ । सडकले राप्ती लोकमार्गलाई दार्मा गाउँपालिकाका विभिन्न स्थानमा जोडेको छ । जलेखर्क स्थित दूध संकलन केन्द्र र १४ पसल पनि पहिरोको उच्च जोखिममा परेका छन् ।

त्यस्तै पहिरोले खानेपानीको पाइप पुरेपछि स्थानीयबासी खानेपानी समस्यामा परेका छन् । त्यस्तै पहिरोले जलेखर्क–बछेला हुँदै वडापालिका जोड्ने सडक पुरेपछि स्थानीयलाई आउजाउमा समस्या भएको छ ।

जथाभाबी डोजर प्रयोग गरी सडक निर्माण गर्दा भूबनौट कमजोर भई पहिरो खसेको स्थानीयहरुले बताएका छन् । पहिरो खस्ने क्रम जारी रहेको र तत्काल मर्मतको सम्भावना नहुँदा स्थानीयलाई सामान ढुवानी गर्न घण्टौं हिडेर जलेखर्क आउनुपर्ने बाध्यता भएको बताइएको छ ।

दार्मा गाउँपालिका ५, का वडाध्यक्ष रामबहादुर केसीले बजेट अभावका कारण तत्काल पहिरो हटाउन सक्ने अवस्था नरहेको बताए । उनका अनुसार सडकको छेउबाट तारजाली बगाउने क्रम बढिरहेको छ ।

गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले वर्षायाम सकिनबित्तिकै सडक मर्मतको काम सुरु गरिने जानकारी दिए । ‘पहिरोका कारण आसपासका गाउँसमेत जोखिममा छन्,’ उनले भने, ‘पहिरो खस्ने क्रम नरोकिएकाले थप क्षति हुन नदिन स्थानीयलाई सतर्क बनाएका छौं ।’

 

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार