• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

कर्णालीमा गरिबीले लिँदै ज्यान, ३ वर्षमा २५५ जनाले गरे आत्महत्या


भाद्र २८, सुर्खेत । वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो– गरिबी ।

छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरू माध्यम भएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्, ‘त्यही पीरले झुन्डिएर आत्महत्या गरेछ ।’ यो समाचार आजको कान्तिपुरमा छापिएको छ,

घनबहादुरजस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ । कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीमा ७ सय २८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये गरिबीको कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ ।

कार्यालयका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाका अनुसार गरिबीपछि आत्महत्या गर्ने दोस्रो प्रमुख कारण घरेलु हिंसा हो । तीन वर्षको अवधिमा घरेलु हिंसाको कारण २ सय २४ जनाले आत्महत्या गरेको उनले बताए । ‘घरेलु हिंसा पनि गरिबीसँगै जोडिएको हुन्छ,’ डीएसपी तिम्सिनाले भने, ‘यसरी हेर्दा गरिबी आत्महत्याको प्रमुख जड हो ।’

सल्यानको शारदा नगरपालिका–१२, अम्रैटाकुरकी ३७ वर्षीया कमला डाँगीको मृत्युको कारण पनि गरिबी बन्यो । पेटको समस्याले थला परेकी उनले तीन वर्षसम्म उपचार गर्दा पनि सन्चो नभएपछि ०७५ चैत २६ मा आत्महत्या गरिन् । अनुसन्धान गर्दै जाँदा बिरामी भएपछि उपचार क्रममा सम्पत्ति सकिएको तनावले आत्महत्या गरेको देखिएको सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले बताए । ‘आर्थिक अवस्था कमजोर हुँदा अन्य बेरोजगार युवायुवतीले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ,’ उनले भने, ‘यसको न्यूनीकरण गर्न व्यापक जनचेतनाको खाँचो छ ।’

उनका अनुसार आत्महत्यापछि सबै घटनाको प्रहरीले मिहिन ढंगले अनुसन्धान गर्छ । त्यस्तो अनुसन्धानमा कर्णालीमा गरिबीकै कारण २ सय ५५ जनाले आत्महत्या गरेको पाइएको उनले बताए । एक वर्षअघि यस्तै बाटो रोजे– घनबहादुरका छिमेकी २० वर्षीय युवाले । घनबहादुर झुन्डिएको ६ महिनापछि उनी झुन्डिएकै अवस्थामा भेटिए । विवाह गरेर बच्चासमेत रहेका ती युवा र उनकी श्रीमती बेरोजगार हुनु मृत्युको कारक बनेको छिमेकीको भनाइ छ ।

गरिबी आत्महत्याको जडमात्र होइन, कर्णालीको समृद्धिको प्रमुख दुस्मनसमेत हो । नेपाल राष्ट्र बैंकले ०७५ जेठमा प्रकाशन गरेको ‘नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थिति (प्रदेशगत प्रोफाइल)’ प्रतिवेदनअनुसार कर्णालीको वार्षिक प्रतिव्यक्ति आय ६ सय ७७ अमेरिकी डलर छ । यो अंक प्रदेश ३ को भन्दा ८ सय ५७ डलरले कम हो ।

नेपाल सरकारकै एक अध्ययन प्रतिवेदनले १६ लाख २३ हजार जनसंख्या रहेको कर्णालीको बहुआयामिक गरिबी दर ५१ प्रतिशत रहेको देखाएको छ ।गरिबीबाट उत्पन्न यो भयावह परिणामलाई कम गर्नेबारे तीनै तहका सरकारले प्रभावकारी रणनीति बनाएको भने देखिँदैन । कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/७७ को बजेट वक्तव्यमा गरिबी न्यूनीकरणलाई बजेटको उद्देश्यमा तेस्रो प्राथमिकतामा राखिएको छ ।

प्रहरी तथ्यांकले पेसागत विश्लेषण गर्दै आत्महत्या गर्नेमा किसानको संख्या अधिक रहेको देखाएको छ । यो संख्या सहरी क्षेत्रमा भन्दा गाउँमा बढी छ । तीन वर्षमा आत्महत्या गरेका ७ सय २८ मध्ये किसानको संख्या ४ सय ६८ छ । आत्महत्या गर्नेमध्ये ४ सय ९१ जना ग्रामीण क्षेत्रका रहेको डीएसपी तिम्सिनाले बताए ।

उनका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने अशिक्षित व्यक्तिले आत्महत्या बढी गर्ने गरेको पाइएको छ । आत्महत्या गर्नेमा १६ देखि ३० वर्ष उमेर समूह र जनजाति समुदायका बढी रहेका छन् । तीन वर्षमा आत्महत्या गरेका ७ सय २८ जनामध्ये यो उमेर समूहका २ सय ७६ जना र जनजाति समुदायका २ सय ३० जना छन् । प्रदेश प्रहरीका प्रवक्ता डीएसपी तिम्सिनाले यसको कारण पनि अनुसन्धानको विषय हुने बताए ।

आत्महत्याको ग्राफ केलाउँदा कर्णालीका हिमाली तीन हिमाली जिल्ला हुम्ला, डोल्पा र मुगुको संख्या निकै न्यून देखिएको छ । तीन वर्ष अवधिमा डोल्पामा तीन जना, हुम्लामा ६ जना र मुगुमा १० जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी सुर्खेतमा २ सय ६० जना छन् ।

आत्महत्या गर्न अधिकांशले साँझ ६ देखि राति १२ बजेको समय रोज्ने गरेका छन् । शनिबार र शुक्रबार अधिक मात्रामा आत्महत्या हुने गरेको छ । तीन वर्षमा आत्महत्या गरेका ७ सय २८ मध्ये २ सय ३२ जनाले शुक्रबार र शनिबार आत्महत्या गरेको प्रहरीको प्रतिवेदनमाउल्लेख छ ।

मनोविमर्शकर्ता सन्तोषी शाही आत्महत्या न्यूनीकरणका लागि राज्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रभावकारी नीति बनाउनुपर्ने बताउँछिन् ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार