• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

नेपाल आइडलकाे अडिसन सुरु


असाेज १, पोखरा । नेपाल टेलिभिजन इतिहासमै सबैभन्दा ठूलो गायन रियालिटी सो नेपाल आइडलको तेस्रो संस्करणको अडिसन मंगलबार पोखराबाट सुरु भएको छ। एपी वान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडलको पहिलो र दोस्रो संस्करण सफलता पूर्व सफल भएपछि तेस्रो संस्करणको अडिसन पोखराबाट सुरु भएको हो।

अडिसनस्थल पोखराको सिमचौरस्थित जनप्रिय मावि वरपर बिहानैदेखि युवाहरू भेला भएर गीतसंगीतको अभ्यास गरिरहँदा पोखरा संगीतमय बनेको थियो। गण्डकी प्रदेशका विभिन्न जिल्ला र प्रदेश नम्बर ५ र ३ बाट पनि युवाहरू अडिसनका लागि पोखरा आएका थिए।

पोखरापछि असोज ३ गते बुटवल, असोज ६ गते नेपालगन्ज, असोज १० गते वीरगन्ज, १४ गते बिर्तामोडमा अडिसन हुने आयोजकले बताएका छन्। कात्तिक ६ गते काठमाडौंमा अडिसन भएसँगै अडिसनको कार्यक्रम सकिनेछ। १६ वर्ष देखि ३० वर्षको उमेरसमूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउने नियमअनुसार युवायुवती अडिसनका लागि सहभागी हुन आएका थिए।

नेपाल आइडल सिजन ३ को निर्णायकमा अघिल्लाे सिजनकै संगीतकार न्यह्यु वज्राचार्य, संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी छन्। अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टीभीले तीन वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार