• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

अविरल वर्षाले देशैभरि पहिराे र डुबान, यस्ताे छ पुर्व देखि पश्चिमसम्मकाे क्षति विवरण


असाेज १, काठमाडाैं । सोमबार साँझदेखि पर्न थालेको पानी अहिले पनि जारी छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार बिहीबार बिहानदेखि पानी पर्न रोकिने छ भने दिउँसो घाम लाग्नेछ। बुधबार दिउँसोदेखि सुदूर पश्चिमका पहाडी क्षेत्रमा मौसम खुल्दै आएको छ।

बाढी तथा पहिरोमा २ जनाकाे मृत्यु

विरल वर्षासँगै आएको खाेलाले बगाउदा संखुवासभाको मकालु गाउँपालिका-६ की २६ वर्षीया शुकमाया राईको मृत्यु भएको छ। गत सोमबार अपराह्न ४ बजे राईसहित अन्य चार जना आफन्त सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-६को बीचमा पर्ने पोखुवा खोला तर्ने क्रममा शुकमायालाई खोलाले बगाएको थियो । दुई दिनको खोजीपछि शुकमायाको शव मकालु गाउँपालिका-६ स्थित पोखुवा दोभानमा फेला परेको हो ।

त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका-४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ। बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसीथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो। बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको हो।

घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए। बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेला परेको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए। उनका अनुसार जैसिथोक स्थायी घर भएका तामाङको परिवार पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएको थियो।

पहिराले घर भत्किए 

वर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका-३ का अर्जुन राईको घर भत्कँदा परिवारै विस्थापित भएका छन्। वर्षाका कारण घर भत्किएर पूर्ण रुपमा क्षति भएपछि विस्थापित भएका उनीहरू आफ्नै गोठमा बसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सोमवारदेखि परेको अविरल वर्षाका कारण तनहुँको भानु नगरपालिका–१२ ओख्लेस्थित चित्रबहादुर दर्जीको घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ ।

ठाउँठाउँमा डुबान

उदयपुरको बेलका नगरपालिका-३ निशानटोल सातपत्रेमा बाढी गाउँ पस्दा १२ घर डुबानमा परेका छन्। स्थानीय गिदेरी खोलाको बाढी गाउँ पस्दा उक्त टोलका १२ घर डुबानमा परेका हुन्।

उदयपुरकै चौदण्डीगढी नगरपालिका-३ को काली खोलाले को१च ६४२० नम्बरको मारुती भेनलाई बगाउँदा क्षति भएको छ। उक्त भेनमा सवार तीन जनाको सकुशल उद्धार गरिएको छ भने भेनलाई खोलाबाट बाहिर निकाली खोला किनारामा राखिएको छ।

त्यस्तै, त्रियुगा नगरपालिका-३ मा रमानन्द शाहले सञ्चालन गरेको किराना पसलमा भेल पस्दा करिब ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यसैगरी, बेलका नगरपालिका-६ घारे खोलाको बाढीले हाइड्रोपावर बगाउँदा १५ घर परिवारको विद्युत अबरुद्ध भएको छ। झापाको माइखोलामा आएको बाढीले कटान गर्दा जोखिममा परेका झापाको शिवसताक्षी नगरपालिका-१० बानडाँडा सुकुम्वासी टोलमा रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले जोखिममा परेकालाई सुरक्षित स्थानमा सारेको हो।

कैलालीमा मंगलबार रातिदेखिको अविरल वर्षाका कारण केही स्थान डुबानमा परेका छन् । विभिन्न नदीमा बाढी आएर गौरीगंगा र भजनी नगरपालिकाका केही ठाउँमा डुबान भएको हो ।

शिवगंगा नदीमा आएको बाढीले घर डुबाएपछि बुधबार गौरीगंगा नगरपालिका वडा नम्बर–३, कुचैनीका ६ घरपरिवार विस्थापित भएका छन् । यस्तै, भजनी नगरपालिकाका वडा नम्बर–२, ३, ५, ७ र ८ मा पनि केही घरमा पानी पसेको छ ।

भजनी–७ स्थित पृथ्वीपुर शिविरको १० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।भजनीमा काँढा, कान्द्रा नदीको बाढीले डुबान भएको जनाइएको थियो । नदीमा बाढी घटिरहेको स्थानीयले जानकारी दिएका छन् ।

पहिराेले सडक अवरुद्ध

उता हिमाली जिल्ला सोलुखुम्बुमा वर्षापछि आएको पहिरोले सडक अवरुद्ध बनेको छ। सोलुखुम्बु–काठमाडौं सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।

पहिरोका कारण काठमाडौंका लागि छुटेका सवारीसाधनहरु बीच बाटोमै रोकिएको ट्राफिक प्रहरी इन्चार्ज प्रहरी हवल्दार सञ्जिव चौधरीले जानकारी दिए। उनका अनुसार पहिरोले तिङलास्थित सिस्नेरी, साल्मे क्षेत्र अवरुद्ध बनेको छ।

त्यस्तै, ओखलढुगांको हर्कपुर क्षेत्रमा पनि पहिरो जाँदा सवारी आवगमन ठप्प बनेको छ। सवारी आवगमन ठप्प हुँदा सयौं यात्रुबीच बाटोमै रोकिएका छन्। सोलुबाट कटारी, सिरहा, सुनसरी, विराटनगर, काठमाडौंलगायतको क्षेत्रमा हिँडेका यात्रु बिहान ११ बजेसम्म बीच बाटोमा रोकिएको ट्राफिक प्रहरी इन्चार्ज चौधरीले जानकारी दिए।

फेवातालमा सडक भासियो

पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ । गएराति परेको ठुलो बर्षातका कारण पोखराको लोकप्रिय स्थल पामे नजिकैको रातो डाँडाको सडक फेवातालमा भासिएको हो ।

सो क्षेत्रमा करिब एक सय मिटर सडक भासिएकोछ । १० मिटर सडक भासिएर पहिरो गएको छ भने करिब ४० मिटर जसो सडक भासिएर खस्ने अवस्थामा पुगेको छ भने उक्त स्थानमा रहेको स्थानीयको घर समेत जोखिममा परेको छ ।

गएराति नै भासिएको स्थानमा कुनै संकेत वा रोकछेक नगर्दा सो क्षेत्रमा सडक दुर्घटनाको उच्च जोखिम समेत रहेको छ । सोहि भासिएको स्थान नजिकै केहि समय अघि करिब १० मिटर जसो भाग पहिरो गएको र त्यसलाई समेत मर्मत सम्हार नगरेको भन्दै स्थानियले गुनासो गरे ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार