• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

चिनियाँ राष्ट्रपति सीले नेपालका राष्ट्रपति भण्डारीलाई फोनमा के भने ?


असाेज ४, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग सहयोग र साझेदारी गहिरिँदै गएको बताएका छन् । उनले नेपालको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोनबाट शुभकामना सन्देश दिने क्रममा यस्तो धारणा राखेका हुन् । निकट भविष्यमै नेपाल आउने अपेक्षा गरिएका चिनियाँ राष्ट्रप्रमुखको नेपाली समकक्षीसँग विरलै फोनवार्ता हुने गरेकामा यसलाई अर्थपूर्ण मानिएको छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले दुई देशको सम्बन्ध विकासमा चीनले उच्च ध्यान दिएको बताउँदै राष्ट्रपति भण्डारीसँग मिलेर चीन–नेपालबीच सहयोग र साझेदारीलाई अझै गहन पार्ने उल्लेख गरे । आजको कान्तिपुरमा लक्ष्मी लम्सालले समाचार लेखेका छन् ।

चिनियाँ लिपिमा उल्लिखित समाचारमा उनले युगौंयुगदेखिको नेपाल–चीन मैत्री सहयोग र साझेदारी सम्बन्ध गहिरिँदै आएको पनि उल्लेख छ । सीले भविष्यमा यो सम्बन्ध अझै गहन पारेर दुवै देश र जनताका लागि धेरै फाइदा ल्याउने जनाएका छन् ।

टेलिफोन वार्ताका क्रममा उनले राष्ट्रपति भण्डारीको गत वैशाखमा भएको चीनको राजकीय भ्रमणको स्मरण गरे । उनले भने, ‘यस वर्षको अप्रिलमा राष्ट्रपति भण्डारीले चीनको सफल राजकीय भ्रमण गरेबाट दुई मुलुकको सम्बन्धमा बढोत्तरी भएको छ ।’ राष्ट्रपति सीले समकक्षी भण्डारीको भ्रमणले विभिन्न क्षेत्रको आदानप्रदान र सहयोगमा नयाँ जीवन्त शक्ति थपेको धारणा पनि राखे ।

विश्वका ठूला घटना, भ्रमणको पूर्वसन्ध्या वा विगतका सहमतिबारे पुन:स्मरण गराउने हेतुले चिनियाँ राष्ट्रपति सीले विदेशी राजनेताहरूसँग टेलिफोन वार्ता गर्ने गरेका छन् । समाचारमा राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणको विषय उल्लेख नभए पनि भविष्यमा अझै घनिष्ठ सम्पर्क राख्ने भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अक्टोबर दोस्रो साता हुने भेटवार्ताका क्रममा सीले नेपालको भ्रमण गर्ने कुरा प्रकाशमा आइसकेको छ ।

यस्तै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) को अवसर छोपेर चीन र नेपालबीचको सहकार्यलाई तीव्र बनाउन चाहेको बताएका छन् । नेपालको राष्ट्रिय दिवसमा प्रधानमन्त्री केपी ओलीलाई पठाएको शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नेपालका प्रधानमन्त्रीसँगै मिलेर बीआरआईको प्रारूपमा चीन–नेपाल सहयोगको चौतर्फी विकासलाई अघि बढाउन इच्छुक छौं ।’

चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार चीनको राज्यपरिषद्का प्रधानमन्त्री लीले समकक्षी ओलीलाई बधाई सन्देश पठाएका हुन् । सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने छिमेकी मुलुक भएको उल्लेख गरेका छन् । दुवै मुलुकले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा युगौंयुगदेखिको चौतर्फी सहयोग र साझेदारी कायम राखेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार