• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

डेंगु जाँच्ने किट गुणस्तरहीन


अडौँसाेज ६, काठमाडौँ ।  ज्वरो आउने, जोर्नी दुख्ने र आँखा दुख्ने समस्या भएपछि भक्तपुरका मदन परियार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे । लक्षणअनुसार डेंगु संक्रमण हुन सक्ने भन्दै चिकित्सकले रगत परीक्षण गर्न सुझाए । परीक्षणमा डेंगु भएको देखिएन ।

डेंगुका सबै लक्षण मिले पनि रिपोर्ट नेगेटिभ आएपछि चिकित्सक छक्क परे तर अरू डेंगुका बिरामीलाई झैं सिटामोल र झोल पदार्थ खान सल्लाह दिएर परियारलाई घर पठाइयो । त्यस्तै नयाँ बजारकी सुल्ताना खातुन डेंगुको आशंकामा अस्पताल पुगिन् । परीक्षण गर्दा रिपोर्टमा डेंगु र स्क्रब टाइफस दुवै देखियो । यो रिपोर्टले पनि टेकु अस्पतालका चिकित्सकलाई चकित बनायो । किनकि बिरामीमा स्क्रब टाइफसको कुनै लक्षण थिएन । चिकित्सकले खातुनलाई रिपोर्टअनुसार औषधि लेखेनन्, लक्षणका आधारमा आराम गर्न मात्रै सुझाए । याे समाचार अाजकाे कान्तिपुरमा छापिएकाे छ ।

पछिल्लो समय टेकु अस्पताल पुग्ने अधिकांश बिरामीको रगत किटमार्फत परीक्षण गर्दा यस्तै समस्या दोहोरिरहेको छ । अस्पतालको किटबाट परीक्षण गर्दा लक्षण एउटा, रोग अर्कै देखिने गरेको छ ।

‘डेंगुको लक्षण भएका बिरामीको रगत किटमा राखेर परीक्षण गर्दा नभएको पाइयो । जसलाई डेंगु भएको लक्षण छैन, उसको चाहिँ डेंगु लागेको रिपोर्ट आयो,’ टेकु अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने, ‘किटको उपयोगिता खासै छैन । क्लिनिकल टेस्ट नै गर्नुपर्छ । प्रकोप थाहा नहुँदाको अवस्थामा हामीले किटको प्रयोग गर्‍यौं, अब यो काम छैन ।’ डेंगु भएको प्रमाणित गर्ने हो भने एलाइजा अथवा पीसीआर विधि आवश्यक रहेको उनले बताए । किटको माध्यमबाट रोग पत्ता लगाउने विधि विश्वभर नै विश्वसनीय नभएको उनले बताए ।

अस्पतालमा बिरामीलाई किटमा रगत परीक्षणभन्दा पनि लक्षणका आधारमा उपचार गर्ने गरिएको उनले बताए । किटको अविश्वसनीय रिपोर्टलाईआधार मानेर राजधानीमा डेंगुको महामारीको हल्लाले जनमानसमा त्रास छ । तत्काल रोग पत्ता लगाउन किटको माध्यमबाट रगत परीक्षण गरिन्छ ।

विश्वसनीय नभएको भन्दै एक महिनायता टेकुस्थित इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले परीक्षणमा किटको प्रयोग बन्द गरेको छ । बिरामीलाई लक्षण र रगत परीक्षणका आधारमा उपचार थालिएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

‘डेंगु परीक्षण किट विश्वमै शतप्रशित विश्वसनीय मानिँदैन,’ उनले भने, ‘पुरानो स्टक प्रयोग भइहाल्यो, अब हामी पनि प्रयोग गर्दैनौं ।’ महाशाखामा १० हजार किट थिए । अब १ सय ५० वटामात्रै बाँकी रहेको उनले बताए । ‘किटबाट रोग पत्ता लगाउने विधि राम्रो होइन । अन्य मुलुकले किटको प्रयोग गर्दैनन्,’ उनले भने, ‘हामीलाई त्यति जानकारी नभएकाले सुरुमा यसबाट प्रयोग गर्‍यौं । नतिजा ठीक आएन ।’

किटबाट परीक्षण गर्दा कुनैमा १० र कुनैमा ८० प्रतिशत सही नतिजा आउने गरेको उनले बताए । किटबाट डेंगु परीक्षण गर्दा ५ सय रुपैयाँ तिर्नुपर्छ । ‘किटबाट भएको परीक्षणलाई विश्वास नमानी ल्याबमा ह्वाइट ब्लड सेल र प्लाटिलेस परीक्षण गरेर डेंगु लागेको हो, होइन थाहा पाउन सकिन्छ,’ उनले भने, ‘महाशाखाले विगतमा खरिद गरे पनि प्रभावकारी र उपयोगी नभएकाले अब किट खरिद गर्दैनौं ।’

किटबाट परीक्षण गर्दा स्क्रब टाइफस नभएका बिरामीमा पनि लक्षण देखिएको थियो । टेकु अस्पतालमा साउनदेखि असोज २ सम्म किटबाट परीक्षण गर्दा ३ सय बिरामीमा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । रिपोर्टअनुसार सबैमा स्क्रब टाइफसको लक्षण नदेखिएकाले बिरामीमा औषधि नचलाएको डा. बाँस्तोलाले बताए ।

‘साँच्चै स्क्रब टाइफस संक्रमित भएको भए ती बिरामी फर्केर आउँथे । औषधिबिना यो रोग निको हुँदैन,’ उनले भने । सरकारी अस्पतालले किटको प्रयोग बन्द गरे पनि निजी अस्पतालले भने बन्द गरेका छैनन् । निजी क्षेत्रका अस्पतालले पनि यस्ता असुरक्षित किट प्रयोग बन्द गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

डेंगु र स्क्रब टाइफसका केही लक्षण साझा भए पनि उपचार फरक छन् । डेंगु सामान्य भाइरल आक्रमण हो, आराम र सिटामोलले निको भएर जान्छ । स्क्रब टाइफसको उपचार नपाए बिरामीको निमोनिया र कलेजो संक्रमणका कारण मृत्युसमेत हुन सक्छ ।

स्क्रब टाइफसले ३ को मृत्यु,६ सय ६३ संक्रमित

गत साउनयता स्क्रब टाइफस संक्रमणका कारण देशभर ३ जनाको मृत्यु भएको छ । ६ सय ६३ संक्रमित छन् । पशुमा हुने संक्रमित किर्नाले मानिसलाई टोक्दा स्क्रब टाइफस हुन्छ । यो संक्रमणले बेस्सरी टाउको दुख्ने, ग्रन्थी सुन्निने र २ साताभन्दा बढी समयसम्म लगातार ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । उपचारपछि बिरामी निको हुन्छन् ।

विशेषगरी कृषि क्षेत्रमा काम गर्नेलाई यसको संक्रमण बढी पाइएको छ । डा. बाँस्तोला भन्छन्, ‘खेतबारीमा काम गर्ने र थकाइ लाग्दा चौरमा सुत्ने गर्दा संक्रमित किर्नाले टोक्छ, किर्नाले टोकेको संक्रमित मुसाले मानिसलाई टोक्दा पनि यो रोग सर्छ ।’ ईडीसीडीको तथ्यांकअनुसार गत पाँच वर्षमा स्क्रब टाइफसबाट देशभर ३० को मृत्यु र २ हजार ५ सय जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार