• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने काँग्रेस महामन्त्री कोइरालाकाे भनाई


असाेज ९, रामेछाप । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुपर्ने प्रस्ताव बलियो रुपमा अगाडि आउने बताएका छन् । ‘अहिले ८ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बुझाएका छन्,’ कोइरालाले भने, ‘त्यसबेलासम्म यो प्रस्ताव अझ बलियो भएर आउने पक्का छ ।’

कोइरालाले पार्टीमा भएको घात प्रतिघातको अन्त्य गरेमा कांग्रेसले कसैसँग पनि हार खानुनपर्ने समेत दावि गरेका छन् । ‘महाधिवेशनमा गुट उपगुट भएपनि त्यस लगत्तै एक भएर पार्टी अघि बढ्नु पर्छ,’ उनले भने ।

यस्तै वर्तमान सरकारका बारेमा टिप्पणी गर्दै उनले सरकारले कुनै नयाँ योजना नभई केवल सपना मात्रै बाँड्दै हिँडेको आरोप लगाए । रामेछापको मन्थलीमा बिहीबार बिहान नेपाल प्रेस युनियन रामेछापद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले भने, ‘दुई तिहाइको सरकार पानीजहाज र रेलको सपना बाँडेर समृद्धिको कल्पना गरीरहेको छ । त्यसबाट समृद्धि सम्भव छैन ।’

उनले देशकोको विकास र समृद्धिको लागि उत्पादनमा जोड दिनुपर्ने बताए । भएका जग्गा बाँझो राखेर युवा विदेश पठाउँदा मुलुकमा समृद्धि नआउने उनले ठोकुवा गरे ।

कोइरालाले वर्तमान सरकार काण्डैकाण्डमा फसेको र जनता प्रति संवेदनशिल नभएको आरोप समेत लगाए । उनले सडक, शिक्षा, स्वास्थ्य, पूर्वाधार, संचार लगाएतका धेरै विकास कांग्रेसको नेतृत्वमा भएको तर, ओली सरकारले भने मुलुकमा कुनै नयाँ योजना दिन नसकेको दाबि गरे ।

कोइरालाले संसदमा कांग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका खेलेको दाबी गर्दै भने, ‘कम्युनिस्ट जस्तो सडकमा गएर बार भाँच्दैमा प्रतिपक्षको भूमिका हुन्छ भन्ने हैन । हामीले ल्याएको संविधान अहिले संकटमा छ । त्यसको रक्षा गर्नुपर्ने भएकाले सडकमा नगएका हौं ।’ उनले कम्युनिस्टको जस्तो अवैध र अनैतिक चरित्र कांग्रेसको नभएकाले सकारात्मक काममा सरकारलाई सहयोग गर्दै आएको बताए थिए ।

प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार