• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

राप्रपाका केन्द्रीय सदस्य लामाको बौद्ध धर्म अनुसार अन्त्येष्टि



असाेज ९, काठमाण्डौ । पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सत्यमान लामाको बिहीबार बौद्ध धार्मिक परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ ।

मधुमेह र फोक्सोमा संक्रमण देखिएपछि केही दिनअघि काठमाण्डौको हेल्पिङ हेण्ड्स अस्पतालमा भर्ना भएका नेता लामाको बुधबार बिहान १० बजेर २५ मिनेट जाँदा निधन भएको थियो ।

पञ्चायतका हस्ती मानिने लामाको पार्थिव शरिरलाई बुधबार बौद्धको तामाङ गुम्बामा राखिएको थियो । गुम्बाबाट उनको पार्थिव शरीरलाई लामा गुरुहरु, पार्टीका नेता, कार्यकर्तालगायतको उपस्थितिमा शव यात्रासहित दिउँसो १ बजे स्वयम्भू पुर्‍याइएको थियो ।

शव यात्रा सुरु हुनुपूर्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले स्व. नेता लामाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

उनिप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टीका वरिष्ठ नेता बालाराम घर्ती मगर, राजनीतिक सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, पार्टी उपाध्यक्ष तोरणबहादुर गुरुङ, महामन्त्री भाष्कर भद्रालगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, भातृ संगठनका पदाधिकारीहरु बौद्धको तामाङ गुम्बा पुगेका थिए ।

काभ्रेका स्थायीबासी रहेका लामाकाे ७४ वर्षको उमेरमा निधन भएकाे हाे । उनका श्रीमती, दुई जना छोरा र तीन जना छोरी छन् ।

प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार