• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानका युवाहरूले ‘कुपिण्डे ताल’ सरसफाइ गरे


असाेज १०, सल्यान । नेपाल युवा परिषद सल्यानले कुपिण्डे ताल सरसफाइ गरेकाे छ । पर्यटन दिवसको अवसरमा शुक्रबार बनगाड कुपिण्डे नगरपालिका -८ मा पर्ने कुपिण्डे ताल सरसफाइ गरिएको  हाे ।

पर्यटन वर्ष २०२० लाई सफल पार्न उद्देश्य र तालमा फाेहाेर हुँदा पर्यटकहरूलाइ समस्या भएकाे कारण फरसफाइ गरिएकाे  परिषद्का जिल्ला संयोजक एलिसा डिसीले बताएन् । कुपिण्डे ताल हालै सरकारले सार्वजनिक गरेकाे नयाँ एकसय पर्यटकिय क्षेत्रमा पर्छ ।

वडा नम्बर ८ का वडा अध्यक्ष कुल बहादुर पुरी प्रमुख अतिथिमा भएको सरसफाइ कार्यक्रममा युवा परिषद सल्यान, अस्थायी प्रहरी चौकी बाबियाचौर, शिक्षक लगाएत स्थानीयको सहभागी रहेको थियो ।

याे पनि पढ्नुहाेस्

के छ त कुपिण्डे तालको आकर्षण

यो ताल आफैमा एक महत्वपुर्ण बिषेशता बोकेको ताल हो । यस तालले वर्षमा तीन पटकसम्म पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती, सल्यानी संस्कृतिको जनजीवनले सम्मोहित कुपिण्डे तालले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

तालको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन् । ग्रामिण धार्मिक पर्यटकीय दृष्टिकोणले मात्र महत्व मानिँदै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने आजसम्म हुन सकेको छैन ।

कुपिण्डे तालको वरपर स्वच्छ वातावरण, वरपर पहाडी हरियाली जगंल र बीचमा नीलो आकाश झैँ पश्चिमतिर फैलिएको सुन्दर मनै लोभ्याउने दृश्य भएको कुपिण्डे ताल, यहाँ सल्यानका मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या आजभोली बढेको छ ।

डुङ्गा सयर गर्ने, मन्दीरमा पुजापाठ गर्न र मनोरम वातावरणमा पर्यटक रमाउने गर्दछन् । सदरमुकाम खंलगाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । कुपिण्डे दह ७० मिटर गहिरो छ भन्ने गरिएपनि एकिन हुन सकेको छैन् ।

३० हेक्टर क्षेत्रफलमा फैलिएको कुपिन्डे तालकोे लम्बाइ १ हजार २ सय मिटर र चौडाइ २५० मिटर तथा गहिराइ ३३ मिटर छ ।  कुपिण्डे ताल समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ । तालकाे पश्चिमतिरकाे भाग भने अलि फराकिलाे छ ।

किम्बदन्ती अनुसार कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । गाउँमा एक दिन साधु भेषमा एकजना मानिस बासको खोजिमा गाउँमा आएछन् । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनन् । निरासहुँदै एकजना वृद्धको घरमा उनी पुगेछन् । बासका लागि आफु आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केह प्रबन्ध हुन नसक्ने बताए पनि साधु त्यही घरमा बस्ने अनुमति मागे ।

वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन् । म कैलुवराह हुँ । अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु । अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन, ‘त्यो पहाडसम्म जाऊ । हिँड्दा पछि फर्किएर नहेर्नु ।’ महिला पहाडतर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह भएछ ।

सल्यानको मुख्य पर्यटकीय सम्पदाको रूपमा रहेको कुपिण्डे ताल सदरमुकाम खंलगादेखि १४ किलो मिटर पश्चिममा पर्छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिएको कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर पश्चिमतर्फ फैलिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।

ताल संरक्षणमा प्रभावकारिता छैन्

कुपिण्डे ताल संरक्षणको नाममा अहिलेसम्म ३ करोडभन्दा बढी रकम सकिएको छ । तर काम भने प्रभावकारी नहुँदा त्यो रकम ‘बालुवामा पानी’ जस्तै भएको छ ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, साविक जिविस, गाविस र सांसद विकास कोषले गत वर्षसम्म ताल संरक्षणका लागि बर्षेनी रकम विनियोजन गर्दै आइरहेका थिए । गत वर्षदेखि भने बनगाड कुपिण्डे नगरपालिकाले संरक्षणमा रकम छुटयाइरहेको छ ।

१३ वर्षको अवधिमा यहि तालको लागी ३ करोडौंभन्दा बढी लगानी भएको तथ्याङ्कले देखाएको छ । कर्णाली प्रदेश सरकारले होमस्टे सञ्चालन गर्न भन्दै यस वर्ष ४० लाख रुपैयाँ विनियोजन गरे पनि काम अझै सुरु हुन सकेको छैन् ।

गत बर्ष यस बर्ष बनगाड कुपिन्डे नगरपालिकाले ५०/५० लाख खर्च गरेपनि त्यो सडक विचमै रोकिएको छ । तालको माथीबाट सडक खन्दा त्यसबाट खसेको ढुंगामाटो र रुखका कारण ताल साँघुरिँदै गएको छ । तालको डिपीआरको लागी पनि यो बर्ष नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ ।

तालको नाममा १० बर्षअघि तत्कालिन भैरहवा पर्यटन बोर्डले १० लाखको घर निर्माण गरेको थियो । तर त्यो घर पनि संरक्षण अभाव र जिर्न अवस्थामा रहको स्थानीयले बताएका छन् ।

यसरी विभिन्न निकायले ताल संरक्षणका लागि वर्षेन न्यूनतम १० लाख रकम खर्च गर्ने गरेको भए पनि लामो समयदेखि त्यो रकम दुरुपयोग हुँदै आएको स्थानीयले बताएका छन् । जसले गर्दा अहिलेसम्म यो तालको नाममा ३ करोड सकिएको छ ।

भूसंरक्षण कार्यालयले तालको चारैतिर रहेका खोलामा बाँध बनाउन विनियोजन गरेको बजेटको लेखाजोखा नभएको बनगाड कुपिन्डे नगरपालिका ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईले बताए । उनले भने– “यति धेरै रकम खर्च गर्दा पनि खान बस्नका लागि एउटा गतिलो होटल छैन, ताल अवलोकनका लागि निश्चित स्थान छैन ।”

ताल र आसपास क्षेत्रका लागि सडक, बाढीपहिरो रोकथामका लागि तटबन्ध, प्रतीक्षालय, आवासगृह, रिङरोड तथा भ्युटावर लगायतमा बर्षेनी रकम विनियोजन हुँदै आइरहेको छ । अहिलेसम्म ताल क्षेत्रमा प्रतीक्षालय, चारकोठे आवासगृह, प्रवेशद्वार र करिब एक किलोमिटर सडक मात्र निर्माण गरिएको छ ।

विभिन्न संस्थाको सहयोगमा निर्माण भएका धारा र शौचालयसमेत जीर्ण बनेका छन् । आवासगृहको टिनको छाना हावाहुरीले उडाएपछि बस्न नमिल्ने भएको स्थानीयले बताए । आवासगृह अहिले पशुचौपायाको आश्रयस्थलमा परिणत भएको छ ।

संरक्षणका लागि कुपिण्डे ताल संरक्षण समिति गठन गरिएको पनि आठ वर्ष भइसकेको छ । तर त्यसले पनि खासै प्रावकारी काम गर्न नसकेको स्थानीयले बताए ।

तालमा स्थानीय ११ जनाले २१ वटा डुंगा सञ्चालन गरेर पर्यटकलाई घुमाउने गरेका छन् । डुंगा सञ्चालक तिलक गोसाईका अनुसार फोहोर बढदै गएपछि ताल क्षेत्रको सौन्दर्य हराउँदै गएको छ ।

ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कवरले ताल संरक्षण र विकासबारे गुरुयोजना तयार नभएकाले समस्या भएको बताए । उनले समितिसँग समन्वय नै नगरी विभिन्न निर्माणका काम गरिएकाले विनियोजित रकम दुरुपयोग भएको दाबी गरे ।

अब के गर्न सकिन्छ तालको लागी

पहिलाे कुरा त यो तालको माथीबाट खन्न लागिएको सडक नखन्नु पर्ने कतिपयको बुझाई त । जसले गर्दा सडकबाट झरेको माटो ढंगा र रुकहरु सबै तालमा गएर भरिन्छ । तर सडक भने आधा खनिएर रोखिएको छ ।

३० हेक्टर क्षेत्रफलमा फैलिएको कुपिन्डे तालकोे लम्बाइ १ हजार २ सय मिटर र चौडाइ २५० मिटर तथा गहिराइ ३३ मिटर छ । यो तालको पश्चिमतर्फ एउटा डाँडो छ । जहाँ सडकको सुविधा छ ।

त्यहि डाँडोसम्म मात्रै सडकको प्रयोग गर्ने र बाँकी तालको क्षेत्रमा पदमार्ग बनाउनु पर्ने कतिपयको बुझाई छ । स्थानीय रनविर राणले भने– “यो तालको छेउमा सडक लिनुभन्दा पदमार्ग बनाए कति राम्रो हुन्थ्यो ।”

पदमार्ग तालको चारैतिर बनाउनुपर्ने उनको बुझाई छ । त्यसको लागी छेउमा फलामका डण्डी राख्ने र त्यहिबाट सजिलै चारैतिर घुमेर ताल अवलोकन गर्न सकिने उनले बताए ।

त्यस्तै तालको बिच भागमा पुल, केबुलकार जस्ता ठुला योजना भए कुपिण्डेमा स्वर्गको आनन्द भेटिने ताल अवलोकन गर्न आएका दाङका झुपु क्षेत्रीले बताए । उनले भने– “यहाँका नेताहरुले पहल गर्ने हो भने यहाँ साचिच्कै स्वर्ग भेटिन्छ ।”

उनले बस्न तथा खानलाई होमस्टेक तथा होटलहरु बनाउनुपर्ने बताए । तालको पश्चिम तिरको डाँडोसम्म मात्रै फराकिलो सडक बनाएर सबै बस्ने, खाने होटलहरु त्यहि बनाए राम्रो हुने उनको बुझाई छ । बाँकी तालतिरको सबै भागमा पदमार्ग र आकृतीहरु ब्नाउन सकिने उनले बताए ।

त्यस्तै तालको पुर्वतिर ढुंगामाटोले पुरिएको भागलाई उकास्नुपर्ने सल्यान बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले बताए । जनप्रतिनिधीको बैठकका लागी कुपिण्डे पुगेका उनले भने–“म २० बर्ष अघि आउदा सय मिटर माथीसम्म ताल थियो । तर अहिले त्यो पुरिएछ, यस्तै हो भने हाम्रा नातिका पालासम्म यो सबै ताल पुरिन्छ ।”

उनले तालको वरिवरी सडक खनेर ताल सिध्याउन खोजेको बताए । ढुंगा माटोले पुरेको भागलाई उकासेर सबै कार्य पश्चिमतर्फको भागमा गर्नुपर्ने उनले बताए । त्यसको लागी तालमा आउने ढुंगामाटोलाई पनि रोकथाम गर्नुपर्ने उनको बुझाई छ । ताललाई व्यवस्थीत बनाउन बागचौर नगरपालिकाले पनि आर्थीक बजेट छुट्याउन सक्ने उनले बताए ।

बनगाड कुपिण्डे नगरप्रमुख गोविन्द कुमार पुनले सडक रहरले नभएर बाध्यताले खनेको बताए । उनले अर्काे गाउँमा जोड्नको लागी त्यहाँबाट सडक खन्नुपर्ने बाध्यता भएको बताए ।

उनले ताललाई पुरानै अवस्थामा फर्काउन ताल क्षेत्रमा थुप्रिएको गिट्टी, बालुवा अन्तै लिएर फाल्ने गरी सडक निर्माण गरिएको दाबी गरे । उनले भने– “वर्षायाममा आउने बाढीपहिरो रोक्न तारजाली राख्ने योजना बनाइएको छ, घुम्न आएका पर्यटकको व्यवस्थापनका लागि आगामी आर्थिक वर्षसम्म आवासगृह निर्माण गर्ने नगरपालिकाको योजना छ ।”

प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रवार