• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान ‘बागचौर’को नामाकरण कसरी भयो ? (फोटो फिचर)


असोज ११, सल्यान । सल्यान जिल्ला संघीय गनतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्रा जस्तै सल्यान पनि हो । जसमध्ये बागचौर बजार एक हो ।

बागचौर नामाकरण सम्बन्धि केही किम्बदन्तीहरु सुन्न पाइन्छन् । बुढापाकाहरुका अनुसार यो ठाउँमा पहिले खासै घरहरु बनेका थिएनन् । त्यो बेला मान्छेहरुको आवदी पनि निकै कम थियो । परापुर्वकालमा माथि जंगलबाट बाघहरु नजिकै रहेको शारदा खोलामा पानी खान आउने, अनि दिन भरि बाघहरु चौरमा बसेर घाम तापिराख्ने भएका कारण पनि यो ठाउँको नाम बागचौर नामाकरण गरिएको हो भन्ने गरिन्छ ।

“बागचौर” सोही ठाउँको नामबाट अहिले बागचौर नगरपालिका नामाकरण गरिएको छ । कुल १२ वटा वडा रहेको यस नगरपालिकामा बागचौर बजार २ नम्बर वडामा अवस्थित छ । नगरपालिकाको केन्द्र रहेको यो ठाउँ अहिले बिस्तारै बजारीकरण हुदैछ । विद्यार्थी, कर्मचारी, व्यापारी, राजनीतिकर्मीहरुको मुख्य हब बन्दै गइरहेको बागचौरमा अहिले मान्छेको आवादी पनि निकै बाक्लो हुदै गएको छ ।

राप्ती राजमार्ग सँग सटेको बागचौर नगरपालिका भित्र पर्ने थारमारे, खरिबोट, बाङ्गेलाखुरी, कालाखेत जस्ता बजारहरु यो ठाउँका मुख्य ब्यापारीक केन्द्र हुन । बागचौर बजारको बाटो भएर दाङ, रोल्पा र रुकुम जिल्लाका विभिन्न ठाउँहरुमा पनि जान सकिन्छ ।

बागचौरमा नगरपालिका भित्र निर्माण भइसकेका र निर्माण हुन बाकी ठाउँहरु पनि छन् । सहिद गेट, हेम चोक, सहिद पार्क र अग्ला टाकुरा भिउ टावर । यो ठाउँमा सहिदहरु हेमराज के.सी, धनबहादुर थापा, खिमाराज डिसी र अन्य सहिद र बेपत्ताहरुको सम्झनामा निर्माण गरिएको सहिद गेट पनि छ ।

सहिद हेमराज के.सी. को सम्झनामा निर्माण गरिएको हेम चोक र सहिदहरुकै सम्झनामा निर्माण गरिएको सहिद पार्कले गर्दा पनि यो ठाउँको नाम उच्च भएको हो ।

यसैगरी प्राकृतिक रुपमा निकै सुन्दर बागचौर बजार नजिकै निर्माण हुन लागेको अग्ला टाकुरा भिउ टावर अहिले यहाँको मुख्य आकर्षण पनि बनेको छ ।

एउटा सुन्दर, मनमोहक, अनुप दृश्याअबलोकन गर्न चाहानेहरुका लागि भिउ टावर बाट देखिने आसपासका दृश्यहरु उत्कृष्ट त छन् नै, तर भिउ टावर समयमै निर्माण हुन सक्छ कि नाइ भनेर अहिले जनमानसमा एउटा चासोको विषय पनि बनेको छ ।

आउनुहोस् । विभिन्न समयमा विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका बागचौरका यी सुन्दर सिनारियोहरुलाई एकैछिन हेरेर मन मोहित बनाउ होइ त ।

 

 

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार