• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

लालिगुराँस टिप्नेलाई १५ हजार जरिवाना गर्ने गाउँपालिकाकाे निर्णय


असोज १२, म्याग्दी । म्याग्दीको एक गाउँपालिकाले राष्ट्रिय फूल लाली गुराँस मास्नेलाई १५ हजार जरिवानासहित टिप्न प्रतिबन्ध लगाइएको छ।

जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने, स्थानीयले लाली गुराँसको रुख नै काटेर दाउरा बनाउन थालेपछि गुराँसको जंगल मासिने भन्दै  रघुगंगा गाउँपालिकाले जिल्लाको पर्यटकीयस्थल टोड्के, रुइसे लगायतका गाउँ पालिकाभित्र लाली गुराँसको जंगलको संरक्षणसँगै दाउरा काट्नेलाई १५ हजार जरिवाना र सूचना दिनेलाई ५ हजार पुरस्कारको ब्यवस्था गरेको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताए।

शनिबार म्याग्दीको सदरमुकाम बेनीमा टोड्के क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा गाउँकार्यपालिकाको बैठकमार्फत गुराँसको जंगल संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न फूल टिप्न समेत रोक लगाउने गरी थप योजनासहित आउने तयारी भइरहेको उनले बताए। उनले सूचना दिनेको नाम गोप्य राखिने बताउँदै खाली ठाउँमा नयाँ गुराँसका बिरुवा रोप्ने बताए ।

वनको शोभा बढाइरहेको र फूल हेर्न जानेले फूल नै चुँडेर ल्याउन थालेपछि गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णयसँगै सामुदायिक बन उपभोक्ता समितिलाई समेत जानकारीसहित अभियानमा सक्रियता देखाउन अनुरोध गरेको छ। रघुगंगासँगै मंगला गाउँपालिकाले समेत पर्यटकीयस्थल तथा गुराँसको जंगल संरक्षण सहितका योजनालाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए।

फूल टिपेर सौन्दर्य बिग्रिन थालेको र लालीगुराँसले राताम्य हुने समयमै फूल टिपेर उजाड हुन थालेपछि संरक्षणका अभियानलाई प्रभावकारी बनाउने जानकारी दिए। कटान, खुल्ला चरन र काठ-दाउरा चोरीले गुराँस नासिँदै जान थालेपछि स्थानीय तहले अभियान सुरु गरेका हुन्। म्याग्दीको बेनी नगरपाालि र पाँचवटै गाउँपालिकाको जंगलमा गुराँस पाइन्छ।

प्रकाशित मिति : २०७६ असोज १२ गते आइतवार