• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

पत्रकारिता ज्यादै जोखिमपूर्ण पेशा हो : सांसद टेक बहादुर बस्नेत


असोज १३, सल्यान । प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेतले पत्रकारिता ज्यादै जोखिमपूर्ण पेशा भएको बताए छन् । सल्यान श्रीनगरमा भएको कुमाख राष्ट्रिय दैनिक पत्रिकाको प्रथम वार्षिकउत्सब कार्यक्रममा बोल्दै सांसद बस्नेतले पत्रकारहरुले जोखिम मोलेरै पत्रकारिता गरेको बताए ।

उनले भने, ‘सबैले पत्रकारिता गर्न सक्दैनन्, पत्रकारिता गर्नलाई बौद्धिकता चाहिन्छ, ज्यान जोखिममा राख्नुपर्छ ।’ पछिल्लो समय पत्रकारहरु सेवामुलक भन्दा व्यवसायीतिर लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनले पत्रकारले गाउँघरमा घटेका घटनाहरु बाहिर ल्याउन र सरकारका कामकारबाहीलाई जनतासामु पुर्याउन छोडेर इगो राख्ने खालका समाचार संप्रेषण गरेको बताए । उनले भने, ‘निडर बनेर पत्रकार समाजको हिरो बन्नुपर्छ, तर केहि पत्रकारहरु हिरो बन्नलाई आफैले गलत लेखेको थाहा पाउदैनन् ।’

कार्यक्रमलाई जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्ट, बनगाड कुपिण्डे नगरप्रमुख गोविन्द कुमार पुन, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने लगाएतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माले मिडियालाई विज्ञापनको लागी रोइकराई नगर्न आग्रह गरे । मिडिया आफैले गुणस्तरीय चिज दिनुपर्ने भन्दै उनले सेवालाई भुलेर विज्ञापनको लागी रोइकराई नगर्न पत्रकारहरुलाई आग्रह गरे ।

सल्यानको पत्रकारिता पुरै संयमित भएको भन्दै उनले जिल्लामा कुनै बदनामी खालको पत्रकारिता नभएको बताए । उनले भने, ‘सल्यानका पत्रकारहरुले गर्नुपर्ने जति काम नगरेको हामी स्वीकार्छाैं, तर बदनामी भने केहि गरेका छैनन् । अन्य जिल्लाको भन्दा सल्यानको पत्रकारिता सभ्य छ ।’

पत्रिकाका प्रकाशक तथा सम्पादक गोविन्द शर्माको सभा अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सल्यान शाखाका सचिव शंकर केसीले गरेका थिए भने स्वागत मन्तव्य कुमाख पत्रिकाका सह सम्पादक नोखिराम थापाले राखेका थिए ।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार